काठमाण्डाै, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्राेलियम पदार्थका लागि सर्वसाधारण र व्यवसाय सम्बन्धमा छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले समिति गठन गरिएको बताउनुभयो । उहाँले आयल निगम समितिका सदस्यको संयोजकत्वमा सरोकारवालासहितको उपसमिति गठन गरिएको संसदमा जानकारी दिनुभयो ।
मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरेको बताउनुभयो । उहाँले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।
मन्त्री बडूले रुस र युक्रेनको युद्धको कारण बाध्यात्मक रूपमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको तर्कसमेत गर्नुभयो ।
प्रतिक्रिया