तनहुँ, २७ जेठ । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन खण्डमा सडक भासिएको स्थानमा सवारी खसेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मस्र्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस नजिक राजमार्गमा खसेको पहिरोले च्यापिएर कारमा यात्रारत एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो।
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई सवारी साधन देखेपछि उद्धारको लागि पोखरा र चितवनबाट गोताखोर टोली आएको थियो। सो टोलीले नदीमा खोजतलास गर्दा दुई शव फेला परेको हो ।
दुवै शवको सवारी साधनको नम्बरको आधारमा आफन्तजन सम्पर्क गराई पहिचान गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो। उक्त दुर्घटनामा बा ३३ प १०८१ नम्बरको स्कुटरमा यात्रा गर्ने गोरखा जिल्ला सिरानचोक गाउँपालिका ५ छोप्राक घरभएर हाल तनुहँको आबुँखैरेनी गाउँपालिका निवासी २९ वर्षीय केशव घिमिरेको सनाखत भएको प्रहरी निरीक्षक क्षत्रीले जानकारी दिनुभयो।
बा १० च ४६७९ नम्बरको कारमा यात्रा गर्ने हेटौंडा उपमहानगरपालिका ७ नागसेदी बस्ने वर्ष ३७ का अनिल भुजेलको सनाखत भएको छ। घिमिरे र भुजेल दुवैको सवारी साधन सडक भासिएर मस्र्याङ्दी नदीमा खसेको थियो। मृतक दुई जनाकै शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ।
प्रतिक्रिया