प्रदेश

मुख्यमन्त्रीको फोनपछि राज्यमन्त्री वलीलाई बुटवल ल्याईयो



बुटवल, ३१ जेठ ।
अर्काको घरभित्रै पसेर मंगलबार बिहान एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल ल्याईएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लगेको थियो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भने उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा उद्धार गरी ल्याउनु परेको बताए।

‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरी इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइएको हो।’

स्रोतका अनुसार बडी गार्ड र गाडीसहित राज्यमन्त्री विमला त्यहाँ पुगेको देखेपछि स्थानीय पहिले नै सशंकित बनिसकेका थिए। त्यसैमाथि राज्यमन्त्री मिनाको घरभित्र प्रवेश गरी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना र उनकी अढाइ वर्षीया छोरीलाई कुटपिट गर्नुको साथै सरसमान यत्रतत्र फालिदिएको थाहा पाएपछि स्थानीय जम्मा भएर उनलाई घरभित्रै थुनेर राखेका थिए। त्यो सूचना पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई उद्धार गरी ल्याएको थियो।

वातावरण केही शान्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा आपसमा छलफल गराई विवाद साम्मे तयारी गरिरहेको बेला खबर बाहिरिएपछि स्थानीय सर्वसाधारण पनि राज्यमन्त्रीविरूद्ध उत्रिए।

इप्रकाको गेटमा राज्यमन्त्री विमलाविरूद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले दिउँसो पौने १ बजेतिर राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो।

केहीबेरमा मुख्यमन्त्री कुलप्रसाद केसीले डिआइजीलाई फोन गरेर विमलालाई बुटवल पठाउन भने।
‘परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेको हुँदा पठाइएको हो’, डिआइजी उपाध्यायले भने।

राज्यमन्त्री विमलाले त्यस्तो हर्कत गर्नु पछाडिको कारण के थियो ? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६