हेटौँडा २७ असार । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ वर्षीया एक किशोरीले बलात्कार प्रयास गरेको आरोपमा जाहेरी दर्ता गरेकी छिन् ।मकवानपुरमा असार १८–१९ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्डको लागि हेटौँडा आएकी कैलाश गाउँपालिका– ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्राले जाहेरी दिएकी हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनले दिएको किटानी जाहेरीमा आफूहरू बसेको होटलको कोठामा मध्यरात वडाध्यक्ष घिसिङ प्रवेश गरेर आफूलाई बलात्कार गर्न खोजेको आरोप लगाइएको छ ।किशोरीले १८ गते दिनभर हेटौँडाको हुप्राचौरमा खेल रनिङ र लङ जम्प खेलेकी थिइन् । भोलिपल्ट पनि खेल रहेकाले त्यस दिन साँझ हेटौँडा उपमहानगरपालिका– १ जरुवाटोलमा रहेको आसन गेष्ट हाउसमा खाना खाएर तेस्रो तल्लामा रहेको रुममा सुतेकी थिइन् ।
सुतिरहेकै बेला राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुर्व्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको उजुरीकर्ता विद्यार्थीको आरोप छ ।आफू निदाएको अवस्थामा एक्कासि शरीरमा केही हिँडेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले गोप्य अंगमा सुमसुम्याएको पाएपछि इन्कार गरेर लात्ती हानेपछि वडाध्यक्ष भागेको पीडित विद्यार्थीले बताएकी छिन् ।
दबाबपछि उजुरी दर्ता :
पीडित विद्यार्थीले किटानी जाहेरी दिन खोज्दा सुरुमा प्रहरीले घटना दर्ता गर्न आनाकानी गरेको थियो । पछि माइती नेपालको समन्वयमा उजुरी दर्ता भएको छ । पीडित उजुरीको लागि प्रहरी कार्यालयमा पुग्दा समेत घटनालाई मिलाउने प्रयास गरिएको थियो । तर महिलाको पक्षमा वकालत गर्दै आएका माइती नेपाल लगायत संघ–सस्थाको प्रयासपछि प्रहरीले उजुरी दर्ता गरेको छ ।उजुरी दर्ताको विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ भने, ‘हामीले उजुरी दर्ता गरेर अनुसन्धानलाई तीव्रता दिएका छौँ ।
’पीडित बालिकाको परिवारले प्रहरी र वडाध्यक्ष पक्षधरका मानिसहरूले नै घटना मिलाउन दबाब दिएको बताएका छन् । घटनालाई विद्यालय परिसरमै मिलाउने प्रयास भएपछि पीडित बालिका माइती नेपालमा पुगेकी थिइन् । उनलाई हाल माइती नेपालले संरक्षण गरिरहेको छ ।यता नेपाली कांग्रेस कैलाश गाउँपालिकाले भने वडाध्यक्षलाई नियोजित रूपमा फसाउन खोजेको बताएको छ ।हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी सभापति राजेन्द्र घिसिङले हारेको झोकमा विपक्षका साथीहरूले प्रतिसोध साँधेको बताए ।
२७ असार २०७९, सोमबार
प्रतिक्रिया