लुम्बिनी ८ साउन । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा ओखर खेती फस्टाउन थालेको छ । त्यहाँका बासिन्दालाई ओखर खेतीसम्बन्धी तालिम र सहुलियत उपलब्ध गराएपछि उनीहरू यसमा केन्द्रित बनेका हुन । अहिले लुम्बिनी प्रदेशका रुकुम पूर्व, प्यूठान र रोल्पामा ओखर खेती भइरहेको छ । आफूले रोपेका ओखरमा फल लाग्न थालेपछि स्थानीय उत्साहित छन् । प्यूठानको नौबहिनी–१ का खिमबहादुर बुढामगर ओखर खेतीबाट आफ्नो पहिचान बनाउने बताउँछन । ४५ रोपनीमा ९८ विरुवा रोपेको उनले बताए । अहिले ३ सय विरुवा थप गर्ने गरी बगैंचा विकासमा लागेको उनले बताए । प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयले रुकुम पूर्वलाई ओखर पकेट जिल्लाका रूपमा विकास गर्न लागेको छ । त्यसैले मन्त्रालयले जिल्लामा विरुवा वितरण गर्दै आएको छ ।
रुकुम पूर्वमा मात्र १७ हजार विरुवा रोप्ने लक्ष्य छ । अहिलेसम्म १० हजार ३ सय विरुवा रोपिएको डिभिजन वन कार्यालय रुकुम पूर्वका प्रमुख जितेन्द्र खड्काले बताए । ओखर खेती विकास गर्न रुकुम पूर्वका लागि गत आर्थिक वर्षमा वन मन्त्रालयले १ करोड ७७ लाख बजेट विनियोजन गरेको थियो । समय अनुकूल नभएकाले ६२ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम फिर्ता गरिएको उनले बताए । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र बनाइएको छ । सिस्ने तथा भुमे गाउँपालिकामा समेत खेती भइरहेको उनले बताए । यस वर्ष मन्त्रालयले ओखर विकास कार्यक्रमका लागि २ करोड २२ लाख रुपैयाँ छुट्याएको मन्त्रालयको योजना शाखाका अधिकृत केशर खड्काले बताए ।
८ श्रावण २०७९, आइतबार
प्रतिक्रिया