तौलिहवा १४ साउन । कपिलवस्तु नगरपालिका क्षेत्र अन्र्तगत हुलाकी सडक आसपासको फुटपाथमा विभिन्न अवरोध सृजना गरिएको छ । जसका कारण सर्वसाधारणहरुले फुटपाथको प्रयोग गर्न पाएका छैनन् । राष्ट्यि गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्गको फुटपाथ क्षेत्र यसरी अतिक्रमणमा पर्दा समेत स्थानीय सरोकारवाला निकायहरुको फुटपाथ खाली गराउन कुनै चासो लिएको देखिदैन ।
स्थानीय व्यवसायी, सर्वसाधारण तथा कपिलवस्तु नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले नै यसरी फुटपाथको अतिक्रमण गर्दै आफ्ना पेशा व्यवसाय संचालन गर्दै आएका छन् । फुटपाथबाट सर्वसाधारणहरु सहज ढंगबाट हिड्न नपाउंदा सडक दुर्घटनाको जोखिम पनि उच्च छ ।
तौलिहवा बजार क्षेत्रमा हुलाकी राजमार्गमा २ लेनको मुख्य सडक र दायां बांया एक एक लेनको सर्भिस सडक निर्माण भई सकेको छ । सडक दुर्घटनाको जोखिमबाट सर्वसाधारणलाई बचाउन व्यवस्थित ढंगको फुटपाथको निर्माण गरिएको छ । तर फुटपाथको प्रयोग भने पैदल यात्रीले गर्न पाएका छैनन् । सडक छेउका फुटपाथ खाली गराई पैदल यात्रीलाई सहज ढंगबाट हिड्न पाउने व्यवस्था मिलाउन सरोेकारवाला निकायले पहल गर्नु पर्ने नागरिक अगुवा रवि ठाकुरले बताएका छन् ।
१४ श्रावण २०७९, शनिबार
प्रतिक्रिया