प्रदेश

विश्वविद्यालयको कार्यालय उद्घाटन



नेपालगञ्ज २० भदौ । लुम्बिनी प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनामध्ये एक लुम्बिनी प्राविधिक विश्वविद्यालयको बाँकेमा उद्घाटन गरिएको छ। विश्वविद्यालय उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले दक्ष जनशक्ति उत्पादन नगरेसम्म देशबाट बेरोजगारी र विदेश पलायन रोक्न नसकिने बताउनुभएको छ।
उहाँले भन्नुभयो, “नेपाली युवालाई देश निर्माणमा सहभागी गराउन तिनलाई दक्ष बनाउनु आवश्यक छ।” बाँकेमा बन्ने विश्वविद्यालयले पश्चिम नेपालका तीन प्रदेशका मात्रै नभई देशभरिकै युवालाई दक्ष बनाउने उहाँले बताउनुभयो। उहाँले संसारले हेर्न र अनुसन्धान गर्न आउने गरी विश्वविद्यालय निर्माण गरिने तथा यसले नेपाली युवाको विदेश पलायन रोक्ने बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारले सानो समयमा धेरै उल्लेखनीय काम गरेको र देशभरिकै प्रदेश सरकारमा उत्कृष्ट हुन सफल भएको जनाउँदै विश्वविद्यालयका कुलपतिसमेत हुनुभएका मुख्यमन्त्री केसीले सरकारले शिक्षा र स्वास्थ्यको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो।
विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले एक सय बिघा जग्गा उपलब्ध गराएको र बाँकेवासीको सहयोगले गर्दा प्रदेश सरकारको गौरवको यो आयोजना कार्यान्वयनमा गएको उहाँले बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री बसिउद्दिन खाँले विश्वविद्यालय सञ्चालनपछि यस क्षेत्रमा सयौँ युवा जनशक्ति उत्पादन हुने र तिनलाई देश निर्माणमा लगाइने बताउनुभयो। उहाँले सरकारले शिक्षाको विस्तारका लागि पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिएको बताउनुभयो।
सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक व्यवस्था तथा कानुनमन्त्री हिमाल शर्माको पनि उपस्थिति थियो। कार्यक्रममा प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद पौडेल, विश्वविद्यालयका उपकुलपति विनोद ढकाल, रजिस्ट्रार रेख भण्डारी, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, पूर्वअध्यक्ष किस्मत कक्षपतिलगायतले विश्वविद्यालय निर्माण छिटो हुनुपर्नेमा जोड दिनुभयो।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६