खेलकुद

२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटालाई




पोखरा, २३ पुस । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।

योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

संकटाका निशान खड्काले बायाँ कर्नर नजिकबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टको जाली चुमाए ।

मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए ।

तर, खुसी लामो समयसम्म टिक्न सकेन । खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए । लगत्तै संकटाले फेरि फ्रिकिको अवसर पाएको थियो । तर, स्टेफन बिनोङको बल पोस्टभन्दा बाहिर बाहिरिन पुग्यो ।

खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको बललाई पुनः हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् । उनको गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्किएको थियो ।

खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो । जसमा संकटाका मेसुके ओलामाउ र स्टेफन बिनोङ र भुटनिजका रेने स्यान्टिलनलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिए ।

थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले विपक्षीm पोस्टमा बल छिराउँदै जित सुनिश्चित गरेका हुन् ।

प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । सहाराले यसै वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेको हो । आहारारा पोखराबाट नाम परिवर्तन गरेर ‘आहारारा पोखरा गोल्ड’ बनेको २२ औं संस्करणमा प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहारारामा नवप्रवेशी टिम चर्च ब्वाइजलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि चुमिसकेको छ । संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।

यता, पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको यो दोस्रो सहभागिता हो । अघिल्लो संस्करणमा पहिलो पटक भाग लिएको भुटनिज युथ क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

ए डिभिजन लिगको सातौं स्थानमा रहेको संकटाले यसपटकमात्रै ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको थियो । संकटाले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापालाई टिममा अनुबन्ध गरेर पहिलोपटक प्रतियोगितामा भाग लिएको हो । आयोजक सहारा क्लबका अनुसार फाइनल खेल हेर्न ८ हजार जनाभन्दा बढी दर्शक रंगशालामा उपस्थित भएका थिए ।

संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।

संकटाकै सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६