काठमाडौँ, २२ कात्तिक
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र उहाँकी जीवनसङ्गिनी रीना कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिएको छ । सयपत्री प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई सयपत्रीको माला, दुबोको मालासहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । साहित्यकार सृजना दुवाल र उहाँका श्रीमान् सङ्गीतकार सन्तोषभक्त श्रेष्ठलाई पनि सोही सम्मान प्रदान गरिएको छ । सो अवसरमा संस्कृत शिरोमणि हरिराम जोशीले उहाँहरूलाई सम्मान गर्दै समाजको हितमा काम गर्ने व्यक्तिहरूको योगदानको उचित मूल्याङ्कन र सम्मानले सेवाभावको विकास हुने विश्वास व्यक्त गर्नुभयो । सम्मानित पूर्वकुलपति कर्माचार्यले महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा सम्मान हुन पाउँदा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०५१ मा स्थापना भएको उक्त प्रतिष्ठानले २०५५ सालदेखि प्रत्येक वर्ष सयपत्री राष्ट्रिय सम्मानबाट वरिष्ठ कलाकार, साहित्यकार तथा लेखकलाई दम्पतीसहित सम्मान गर्दै आएको छ । –––









प्रतिक्रिया