प्रदेश

कालीगण्डकी कोरिडोर अन्तिम चरणमा



पाल्पा २५ पुस । पाँच वर्षअघि सुरु भएको कालीगण्डकी कोरिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कालीगण्डकी कोरिडोर उत्तर–दक्षिण आयोजनाअन्तर्गत पाल्पाको पीपलडाँडादेखि पूर्वी नवलपरासीको गैँडाकोटसम्मको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो। उक्त खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको आयोजना पक्षले जनाएको छ।
पीपलडाँडादेखि गैँडाकोटसम्मको १३२ किलोमिटर सडकमध्ये ११२ किलोमिटर सडकको काम सकिएको छ। बाँकी १० किलोमिटर सडक निर्माण गर्न २०८० असार २३ भित्रै सकिने गरी काम भइरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयका प्रमुख शङ्कर पौडेलले बताउनुभयो।
घरटहरा हटाउन नसक्दा कतिपय स्थानमा तीन वर्षदेखि काम रोकिएको थियो, अहिले संरचनालाई हटाएर काम थालेका छौँ, प्रमुख पौडेलले भन्नुभयो। चार वर्षअघि २०७५ कात्तिक २ गते भारतीय निर्माण कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरसँग कोरिडोर निर्माण गर्न पाँच अर्ब ५२ करोड ९४ लाख ४५ हजार रुपियाँमा सम्झौता भएको थियो।
पहिलो पटक २०७८ भदौ ८ गतेभित्र काम सकिने गरी सम्झौता भए पनि सम्झौताभित्र काम हुन नसकेपछि दुई पटकसम्म म्याद थप भएको कार्यालयले जनाएको छ। कालोपत्रे गर्न बाँकी भएका क्षेत्रमा स्ट्रक्चर निर्माणको काम भइरहेको छ।
पाल्पाको रामपुर–५, मटेरी र भलायटार क्षेत्रमा विवादका कारण रोकिएको सडक निर्माणको कामले तीव्रता पाएको छ। कतिपय स्थानमा मुआब्जाका कारण भएको समस्या भने समाधान भएको कार्यालयले जनाएको छ। यसअघि कतिपय स्थानमा मुआब्जाले गर्दा समस्या थियो।
कालीगण्डकी कोरिडोरलाई छिमेकी देश भारत र चीन जोड्ने मुख्य नाकाका रूपमा हेरिएको छ। दुई देशबीचको आर्थिक तथा सांस्कृतिक पक्षलाई जोड्ने गरी त्रिदेशीय पारवहन मार्गका रूपमा कोरिडोरलाई सञ्चालनमा ल्याउन खोजिएको आयोजना पक्षले जनाएको छ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६