वुटवल १२ माघ । बुटवल उपमहानगरपालिकाको १२औं अधिवेशनले जलस्रोत नीति पारित गरेको छ । अधिवेशनले बुटवलभित्र रात्रिकालीन बजार सञ्चालन गर्ने निर्णय गरेको छ । पुस २१ गते सुरु भएको नगरसभाले कर्मचारी दरबन्दीसम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐनसमेत संशोधनसहित पारित गरेको छ । नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको जानकारी दिए ।
यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरूको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कहरूलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोलविकास संस्थाहरूलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।नगरसभामा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा सहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए ।
पाण्डेले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने सहरका रुपमा स्थापित गर्ने बताए ।
१२ माघ २०७९, बिहिबार
प्रतिक्रिया