खोज–अनुसन्धान

गाउ पालिकाले नै च्यावनप्रास उत्पादन :जेष्ठ नागरिकलाई निशुल्क वितरण




पाल्पा २६ माघ । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।पौष्टिक आहारका रूपमा प्रयोग हुने च्यावनप्राश गाउँमै पाइएका विभिन्न खालका जडीबुटीबाट तयार गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले बताए । पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको उहाँले बताउनुभयो ।
रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यावनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको कविराज आचार्यले बताउनुभयो  । उत्पादन गरिएको च्यावनप्राशमा अमलासहितका ४४ वटा जडीबुटीको मिश्रण रहेको छ । मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने केन्द्रको भनाइ छ ।हालसम्म ४०० किलोग्राम च्यावनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ  । च्यावनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँमा रहेका जडीबुटी तथा वनस्पतिबाट च्यावनप्राश उत्पादन गरेर ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमा पनि समस्या हुने भएकोले कम लगानीमा पालिकाले नै उत्पादन गरेको उहाँले बताउनुभयो ।
उत्पादन भएको च्यावनप्राशको उपयोगले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान गर्न सहयोग पुग्ने आयुर्वेदका चिकित्सकको भनाई छ । पालिकाले उत्पादन गरेको च्यावनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ ।पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताउनुभयो । पालिकामै उत्पादन भएको च्यावनप्राशको प्रयोगबाट ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने उहाँको विश्वास छ । व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै योजना नरहेको पालिकाले जनाएको छ ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६