अर्थ-वाणिज्य

यस कारण मजदुरको शान्ति आन्दोलन हिसात्मक बन्यो



काठमाडौं १ फागुन,। सोमबार दिउँसो १ बजेका लागि यातायात मजदुरहरुले नयाँ बसपार्कमा विरोधसभा आयोजना हुने तय थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ घोषित आन्दोलनअनुसार संयुक्त रुपमा बसपार्कभित्रै विरोध कार्यक्रम गर्ने तयारीमा थिए ।साढे १२ बजे नै श्रमिकहरु झण्डासहित बसपार्कभित्र छिर्न खोजे । तर, नयाँ बसपार्कको सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीहरुले मजदुरलाई रोके । ल्होत्सेका कर्मचारीहरुले आफूहरुले व्यवस्था गरेको पार्टी प्यालेसमा कार्यक्रम गर्न र बसपार्कमा आवागमनमा असर नगर्न आग्रह गरे ।
ल्होत्सेले २०५७ सालमा काठमाडौं महानगरपालिकासँग ४५ वर्षका नयाँ बसपार्कलाई सार्वजनिक सेवा केन्द्रका रुपमा निर्माण, सञ्चालन र हस्तान्तरण ९बूट० मोडलमा चलाउने गरी जिम्मा लिएको थियो । त्यसअनुसार उनले नयाँ बसापाक क्षेत्रमा मलसहित विभिन्न व्यवसायिक संरचना बनाएको छ । काउन्टरसहित बसपार्क प्रयोगबापत यातायात कम्पनी र समितिसँग शुल्क उठाउँछ ।पछिल्ला दिनमा उपत्यकाबाट छुट्ने बसहरुलाई सकेसम्म नयाँ बसपार्कबाटै छुटाउने काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको नीतिका कारण धेरै बस सेवाले नयाँ बसपार्कमै काउन्टर राखेर पार्किङ सुविधा लिनुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ ।
यही समयमा दुई सातायता विभिन्न १० बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिंदै आएका यातायात मजदुरहरुले भोलि (मंगलबार) सम्म माग सम्बोधन नभए ३ फागुनदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे ।यातायात मजदुरलाई बसपार्कभित्र प्रवेश गर्न नदिने ल्होत्सेका कर्मचारीको अडान मन परेन । बसपार्कमा ल्होत्सेले उठाउने चर्को शुल्कबाट समेत पीडित रहेका यातायात मजदुर कार्यक्रम गर्न नदिने भनिएपछि आक्रोशित हुन पुगे ।सवारी नियम उल्लंघनमा पहिलो पटकमै १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिक प्रहरीको निर्णयदेखि सवारी प्रदुषण जाँचमा फेल भएका सवारी साधनलाई एक लाखसम्म जरिवाना लिने वातावरण विभागको कदमसम्मको विरोधमा आन्दोलित मजदुरलाई विरोध सभाका लागि नयाँ बसपार्क भित्र छिर्नै नदिने अडानपछि तनावको वातावरण सिर्जना हुन पुग्यो ।
ल्होत्सेका कर्मचारीले रोकेपछि यातायात मजदुरहरुले केन्द्रीय बसपार्कमा समेत आफूहरुलाई निषेध गरिएको भन्दै ल्होत्सेविरुद्ध नाराबाजी गरे । त्यसले विवादको रुप लिएपछि हात हालाहालको अवस्था आएको थियो ।यातायात मजदुरहरुमाथि दुव्र्यवहार भएको भन्दै भीड उत्तेजित भएपछि नयाँ बसपार्क क्षेत्रमा तनावग्रस्त बनेको थियो । मजदुरहरुले सडकमै बस र ट्रकहरु तेस्र्याए । ल्होत्सेविरुद्धको असन्तुष्टि ‘ट्राफिक प्रहरीको ज्यादती’ र वृद्धि भएको जरिवानाको विरोधतर्फ पनि मोडियो । यसैकारण उपत्यकामा चल्ने र उपत्यकाबाट छुट्ने सार्वजनिक बसहरु रोकेर थप यातायात मजदुरहरु बालाजुमा एकजुट भए ।
उनीहरुले माछापोखरीमा प्रहरीको दुई वटा भ्यान जलाए । ट्राफिक प्रहरी र जनपद प्रहरीका अस्थायी बिटहरुमा पनि आगजनी गरे । आन्दोलन उत्तेजित भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेपनि साँझसम्म नै मजदुरहरुले आन्दोलन रोकेनन् । जसका मारमा काठमाडौंको उत्तरी क्षेत्रका तारकेश्वर, टोका र नागार्जुन नगरपालिकास्थित घर जान सार्वजनिक यातायातका प्रयोग गर्नुपर्ने सर्वसाधारण पनि परे । काठमाडौं उपत्यकाभरि नै उच्च दरमा ट्राफिक जाम पनि भयो । बालाजु क्षेत्रमा त पैदलयात्री समेत हिँड्न नसक्ने स्थिति आयो । गन्तब्यमा जान रोकिएका सर्वसाधारणले आन्दोलन नरोकिने अवस्था देखिएपछि हात उठाएर हिँडनुप¥यो ।साँझमा त आन्दोलनकारीले बसपार्कमा ल्होत्से बहुद्देश्यीय प्रालिले निर्माण र सञ्चालन गरेको ल्होत्से मलमा नै प्रवेश गरेर तोडफोड गरेका छन् । आन्दोलनकारीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीसमेत घाइते भएका छन् ।सरकारसँग वार्ता पनि गरिरहेका यातायात मजदुरले ल्होत्सेको ज्यादती विरुद्ध भन्दै मंगलबारका लागि काठमाडौं उपत्यका सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । यसले भोलि पनि उपत्यकामा यात्रुले थप हैरानी खेप्नुपर्ने अवस्था आएको छ।
यातायात मजदुरले आन्दोलन चर्काउँदै गर्दा ट्राफिक प्रहरीले पहिलो पटककै नियम उल्लंघनमा १५ सय रुपैयाँ जरिवाना लिने निर्णय उल्टाएर ‘सफ्टवेयर’मा नै संशोधन गरेको छ । अब यातायात तथा सवारी व्यवस्था ऐनअनुसार पहिलोपटकमा ५ सय, दोस्रो पटकमा १ हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ जरिवाना लिने व्यवस्था नै कार्यान्वयन हुने यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।आइतबार यातायात मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा कानुनविपरीत जरिवाना असुलिएको भए त्यसमा संशोधन गर्ने सहमति भएको थियो । यसअनुसार ट्राफिकले ३ पुसयता कार्यान्वयन गरेको पहिलो पटकमै १५ सय रुपैयाँ जरिवाना लिने व्यवस्था फिर्ता भएको छ ।
तर, यातायात मजदुरहरु यतिमै खुसी छैनन् । उनीहरुले नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्सेलाई त्यहाँबाट विदा गर्नुपर्ने माग पनि अघि सारेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई ल्होत्सेले सरकारको १६१ रोपनी जमिन कब्जा गरेर यातायात मजदुरहरुमाथि चरम दमन र शोषण गरिरहेको आरोप लगाउँछन् ।‘त्यहाँ दैनिक रुपमा यातायात मजदुहरु कुटिन्छन्’, उनी भन्छन्, ‘काठमाडौं उपत्यकाबाट छुट्ने सबै माइक्रो बसहरु पनि नयाँ बसपार्कमै छिर्नुपर्ने व्यवस्था गरिएको छ, अव्यवहारिक व्यवस्था गरेर ल्होत्सेलाई पोस्ने मात्रै काम भइरहेको छ, यात्रु र मजदुरको पीर मर्का बुझिएको छैन ।’राईका अनुसार यातायात मजदुरको माग यति मात्रै छैन । ट्राफिक प्रहरीको सडक आतंक बन्द गर्दै कानुनको पालना गर्न, कारवाहीको नाममा निलम्बित लाइसेन्स फुकुवा गर्न र ट्राफिक प्रहरीको ज्यादती अन्त्य गर्न र जरिवानालाई कानुनसम्मत गर्दै ट्राफिक प्रहरीको अन्यायिक रकम असुली बन्द गर्न मजदुरहरुले माग गरेका छन् ।
चेकजाँचका नाममा यातायात मजदुरलाई दिने प्रशासनिक हैरानी अन्त्य गर्नुपर्ने, पार्किङसहित ‘पिक एण्ड ड्रप’को भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन गर्नुपर्ने, एडभान्स ट्राफिक म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्दै पुरानो प्रणालीको अन्त्य गर्नुपर्ने माग पनि यातायात मजदुरको छ ।सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी श्रम र लगानीमैत्री बनाउनुपर्ने, छुट्टै यातायात मन्त्रालय व्यवस्थाका गर्नुपर्ने, सुस्त अनि भ्रष्ट यातायात व्यवस्था विभाग र यातायात कार्यालयलाई चुस्त र पारदर्शी बनाउनुपर्ने, ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्दै यातायात व्यवस्थापन र सेवालाई प्रभावकारी बनाउनुपर्ने माग समेत उनीहरुले अघि सारेका छन् ।
‘रोड सेफ्टी काउन्सिल’ बनाएर सडक दुर्घटना न्यूनीकरण गर्दै सडक सुशासन कायम गर्न, श्रम बजारमा विदेशी हस्तक्षेप सदाका लागि अन्त्य गर्न, स्वरोजगारलाई विस्थापित गर्ने गरी सवारीसाधनको आयु तोक्ने नीति खारेज गर्न, यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन र नीति निर्माणमा यातायात श्रमिकहरुको प्रतिनिधित्व हुने व्यवस्था सुनिश्चित गर्न पनि आफूहरुले आन्दोलन गरिरहेको राईले बताए ।‘लोत्सेविरुद्ध मात्रै हामी आन्दोलित भएका होइनौं, हामीले अघि सारेका सबै माग सम्बोधन नभए पूर्वनिर्धारित तालिका अनुसार नै अघि बढ्छौं,’ मजदुर नेता राईले भने, ‘यो यातायात क्षेत्र सुधारर्ने आन्दोलन हो ।’
लोत्से बहुद्देश्यीयले भने सबै माइक्राबसहरु नयाँ बसपार्कभित्रै रोक्नुपर्ने नियम ल्याएपछि त्यसको रिस आफूहरुमाथि पोखिएको आरोप लगाएको छ । बाटोबाट दलालमार्फत सकेसम्म बढी भाडा असुलेर यात्रु उठाउन नपाउने अवस्था आउन लागेको झोँकमा यस्तो आन्दोलन गरिएको कम्पनीको आरोप छ ।हामीले २ अर्बभन्दा बढी लगानी गरेर बसपार्क व्यवस्थित गरेका छौं, यहाँ आएर काउन्टरमा बसेपछि यात्रुलाई ठग्न पाइन्न’, ल्होत्सेका बसपार्क इन्चार्ज पंकज मल्लले भने, ‘जथाभावी पार्किङ गरेर मनपरी ढंगले चल्न नपाएको रिस हामीमाथि पोखिंदैछ ।’
यसअघि वक्तव्य जारी गरेर मजदुर आन्दोलनको समर्थन गरेका व्यवसायीहरुले सोमबारको घटना र मंगलबारको बन्दबारे मुख खोलेका छैनन् । विशेष गरी सरकारी नीतिहरु परिवर्तनका लागि मजदुरले गरेका घोषणामा उनीहरुको समर्थन छ ।तर, लोत्से बहुउद्देश्यीय प्रालिसँग मिलेका व्यवसायीका संघ संगठनका नेताहरु मजदुर आन्दोलनको विपक्षमा बोल्ने आँट गरेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गरेर वार्तामार्फत समाधान खोज्नुपर्ने भन्दै सबै पक्षलाई संयम हुन आग्रह गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक गौतम महानगरपालिकासँग लोत्सेबारे मजदुरले उठाएका मागबारे छलफल हुने बताउँछन् । ‘अन्य सम्बोधन हुनुपर्ने मागबारे यातायात मजदुर र व्यवसायीसहित सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको कार्यदल बनाएर छलफल गर्दैछौं’ उनले भने, ‘आन्दोलनरत पक्षलाई छललफबाट नै समाधान खोज्न आग्रह गर्छौं ।’

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६