पाल्पा १३ फागुन ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक चरणको काम गर्न दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको छ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि यस्तो निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो। सिद्धबाबा क्षेत्रको रामा पिथेकस नजिकै सडकको डाइभर्सन निर्माण गर्दाका बेला माथिबाट खुकुलो ढुङ्गा खस्न सक्ने भएकाले सुरक्षित रूपमा काम गर्न सडक बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार २०७९ फागुन १३ गतेदेखि १५ दिनका लागि दैनिक आठ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको प्रजिअ पन्तको भनाइ छ।
फागुन १३ गतेपछि बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० देखि ३ बजेसम्म उक्त राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारीसाधन आवागमन बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो। सुरुङ मार्गको डीपीआर स्वीकृतिको अन्तिम चरणमा छ। सडक बन्द रहेको अवधिका बेला यात्रुको सहजताका लागि निर्माण व्यवसायीले दोभान–नुवाकोट सडक मर्मत गरी साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सक्ने गरी प्रबन्ध गर्ने निर्णय भएको छ।
१३ फाल्गुन २०७९, शनिबार
प्रतिक्रिया