कपिलवस्तु २८ फागनु ।कैलालीका मोहन खड्का उच्च शिक्षाको लागि काठमाडौं आएको करिब ७ महिना भयो। हाल उनी शंकरदेव क्याम्पसमा बीबीएस अध्ययनरत छन्।उनको पढाइ र कोठाभाडाको लागि घरबाट सधैँजसो मासिक खर्च आउँछ। तर यसपटक भने फागुन १५ भइसक्दा पनि पैसा आएन। उनले घरबाट पनि पैसा आउन ढिलो हुने खबर पाए। १० गतेभित्र कोठाभाडा तिरिसक्नुपर्ने उनलाई घरभेटीलाई समयमै पैसा कसरी तिर्ने भन्ने चिन्ता भयो। एक जना गाउँकै दाइसँग १० हजार सापटी मागे। तर उनले पनि सापटी दिन नसक्ने जवाफ दिँदै नबिल बैंकबाट फोन लोन लिन सुझाए।
खड्कालाई ती दाइको सुझाव ठीक लाग्यो। फोनलोन कसरी लिने, के–के डकुमेन्ट चाहिने हो भनेर सुरुमा त उनी चिन्तित भए। तर समाचारहरु पढेपछि भने नबिलले सहजै फोन लिने दिने गरेको पाए।
त्यसपछि नबिलको मोबाइल एपमा गएर फोन लोनको प्रक्रिया अगाडि बढाए। केही समयमै नबिल बैंकले इमेलमा लिंक पठायो। लिंकमा गएर ‘कनफर्म’ गरे। त्योसँगै उनले १५ हजारसम्म लोन लिन पाउने भए। ‘कर्जा एक महिनामा तिर्दा पनि हुने रहेछ’, खड्का भन्छन्, ‘एक वर्षसम्म पनि तिर्न मिल्ने रहेछ। तर मैले एक महिनाको लागि मात्र १५ हजार रुपैयाँ कर्जा लिएँ।’ केही दिनमा घरबाट पैसा आएपछि कर्जा तिरेको उनले बताए। समस्या परेको बेलामा निकाल्न मिल्ने भएकाले पैसा हुनेबित्तिकै तिर्नुपर्ने उनी बताउँछन्। ओखलढुंगाका राकेश लामिछाने कुरियरको काम गर्छन्। उनको तलब पनि राम्रो छ। उनी घरको जेठो छोरा हुँदा घरको जिम्मेवारी पनि आफ्नै काँधमा रहेको सुनाउँछन्। ‘कमाएको पैसाले खान लाउन र घर खर्च चलाउनुपर्छ’, उनी भन्छन्, ‘घरमा बुवा बिरामी हुनुहुन्छ। घरको जेठो छोरा भएपछि अलिकति घरको पनि जिम्मेवारी हुने रहेछ।’ फागुन ११ गते उनलाई घरबाट बुबा बिरामी रहेको र चाँडै घर आउन भनी खबर आयो। अन्य आम्दानीको स्रोत नहुँदा काम छोडेर घर जानुभन्दा बुबाको उपचारको लागि काठमाडौं नै बोलाउने निधो गरे।
लामिछाने भन्छन्, ‘बुबाको नशाको समस्या छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरेँ। डाक्टरले नशा अपरेसन गर्नुपर्ने त्यसका लागि पैसा जम्मा गर्नु भने। मसँग पैसा पुगेन। कसैबाट सहयोग पनि मिलेन।’उनले पनि फोनलोनबारे समाचारमा पढेका थिए। उनको खाता रहेको एनआईसी एसिया बैंकले पनि केही महिनाअघि मात्रै फोन लोन सेवा सुरु गरेको थियो। तर उनलाई फोन लोन कति पाइन्छ भन्ने थाहा थिएन।
‘कतैबाट पैसा नपाएपछि मेरो लागि कुनै विकल्प नै रहेन। मोबाइल एपबाट फोन लोन प्रक्रिया अगाडि बढाएँ’, लामिछानेले भने, ‘४० हजार रुपैयाँ फोन लोन पाएँ। बुबा बिरामी भएको पीडा बिर्सेर मन दंग भयो।’ लोन पनि एक वर्षसम्म तिरे हुने थाहा पाएको उनको भनाइ छ। ‘दुःखमा सहयोग गर्ने नै आफ्नो हो। मेरो लागि आफ्नो र आफन्त एनआईसी एशिया बैंक नै बन्यो’, गर्जो टारेका उनले खुसी हुँदै भने। बैंकहरुले सुरु गरेको सहज फोन कर्जाले उनीहरुलाई मात्र होइन अन्य धेरैको तत्कालको खाँचो पूर्ति गरिदिएको छ। यस्तो कर्जा लिने ग्राहक समेत बढिरहेको बैंकहरु बताउँछन्।
नबिल बैंक : ६ हजार बढीले लिए फोन लोन
नबिल बैंकले ‘फोन लोन’मार्फत न्यूनतम १० हजारदेखि अधिकतम २ लाखसम्म कर्जा दिने गरेको बैंकका डेपुटी सीईओ विनयकुमार रेग्मी बताउँछन्। ‘नबिल बैंकले दुई किसिमको ‘फोन लोन’ सेवा सुरु गरेको छ’, रेग्मीले भने, ‘एउटा नबिल बैंकको खातावालले पाउँछन्, अर्को नबिल बैंकको क्यूआर लिएका ग्राहक (व्यवसायी) इन्डिभिजुअलले यस्तो कर्जा पाउँछन्।’ उनका अनुसार पछिल्लो ६ महिनामा खातावाल ९ग्राहक०ले गरेको कारोबारको आधारमा ‘फोन लोन’ सुविधा प्राप्त गर्न सक्छन्।‘बचतखाताहरुको हकमा पेयबल अर्थात् तलबी खाता नै हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘नबिल बैंकमा खाता भई कारोबार गरिरहेका ग्राहक फोन लोनको लागि योग्य हुन्छन्।
’ग्राहकको कारोबारको आधारमा ‘फोन लोन’ सीमा सिस्टमले निर्धारण गर्ने रेग्मीको भनाइ छ। ‘फोन लोनको लागि ग्राहकले आफ्नै मोबाइल एपबाट अप्लाई गर्न सक्छन्’, उनले भने, ‘कुनै व्यक्तिले कति लोन दिने तय गर्ने होइन। ग्राहकको कारोबारको आधारमा सिस्टमले नै लोन कति दिने निर्धारण गर्छ।’तर, केही सीमा पुगेका ग्राहक मात्र कर्जाको लागि इलिजिबल (योग्य( हुने रेग्मी बताउँछन्। ‘खातावाल ग्राहकले पछिल्लो ६ महिनामा १० हजारसम्म जम्मा भएको हुनुपर्ने व्यवस्था छ’, उनले थपे, ‘चाहे तलब होस् या जम्मा गरेको पैसा, हरेक महिना १० हजार रुपैयाँ कारोबार भएको भए न्यूनतम १० हजारदेखि २ लाखसम्म ‘फोन लोन’ लिन पाउँछन्।’ उनका अनुसार हालसम्म ६ हजार बढी ग्राहकले फोन लोन लिएका छन् ।
एनआईसी : फोनबाटै २ लाख कर्जा
त्यस्तै एनआईसी एसिया बैंकले पनि खातावाल(ग्राहक( को लागि फोन लोन सेवा सुरु गरेको छ। बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत विना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम २ लाखसम्मको फोन लोन सेवा लिनसक्छन्। बैंकका खातावाला ले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्छन्। कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित एनआईसी एसिया फोनलोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्।
एनएमबी बैंक : कसलाई दिन्छ फोन लोन?
एनएमबी बैंकले पनि आफ्ना ग्राहकलाई २ लाखसम्म फोन लोन दिने गरेको छ। आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेको एनएमबी बैंकका सूचना अधिकारी विष्णु पौडेलले बताए। ‘अन्य बैंकले गरेको फोन लोन र एनएमबी बैंकले दिने फोन लोन फरक छ’, उनले भने, ‘एफ एन्ड सफ्टले मोबाइल एपबाट फोनबाट कर्जा लिन पाइने मोडल हो। हाम्रो अलि फरक छ। हाम्रो आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेका छौँ।’
उनका अनुसार हालसम्म एनएमबी बैंकको फोन लोन ३ हजार बढीले लिएका छन्।
प्रतिक्रिया