खोज–अनुसन्धान

एमालेका बिरुद्ध जति ठूलो धेराबन्दी र गठबन्धन हुन्छ त्यति अझै बलियो हुन्छ :ओली




गुल्मी १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताको मुद्दालाई बलियो गरी उठाएकाले देशको अस्थिरतामा रमाइरहेका देशी -विदेशी प्रतिक्रियावादीहरुले घेराबन्दी गरेको बताएका छन् ।मिसन ग्रासरुट अभियानअन्तर्गत गुल्मीको तम्घासमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारविरुद्ध यस्तो घेराबन्दी गरिएको बताएका हुन् ।‘एमाले नेतृत्वको सरकारले गरेको कामले उनीहरुलाई असह्य भएको छ, यसका विरुद्ध उनीहरु घोषित रुपमा लागे, देशका मात्रै होइन विदेशी शक्तिहरु मरिमेटेर लागे, उनीहरुले सरकारमात्र ढालेनन् पार्टीलाई पनि तहसनहस पार्न खोजे’, उनले भने, ‘पहिले प्रचण्डलाई प्रयोग गरेर फुटाए । पछि माधव नेपाललाई फुटाए । आखिर कुनै नीति र विचारमा असहमति थिएन । मात्रै हामीले उठाएको राष्ट्रवादी अभियानबाट मात्रै सह्य नभएर हो ।’
एमालेले देश बनाउने संकल्प लिएको भन्दै उनले थपे, ‘सीमा रक्षाको विषय उठाएको थियो । छुटेको सीमा जोडेर नक्सा बनाएको थियो । अवरुद्ध विकासका काम योजनाबद्ध सुरु गरेको थियो । यहीवापत एमालेलाई प्रतिक्रियावादीले दिएको सजाय हो । यसबाटै हामी उठेर अब एकल बहुमतको सरकारका लागि जुट्नुको विकल्प छैन ।’मिसन ग्रासरुट अभियानको मुख्य उद्देश्य एमालेविरुद्धको षड्यन्त्रबारे गम्भीरतापूर्वक समीक्षा गराउने र अस्तव्यस्त पार्टी संगठनलाई धारिलो बनाउने र चम्किलो बनाउने रहेको उनले स्पष्ट पारे ।‘अहिलेको निर्वाचनमा एमालेलाई एकल बहुमत नभएकाले भुरेटाकुरे पार्टी मिलाएर विगतका क्षमा दिनै नसकिने गल्ती गरेका पार्टीहरुलाई समेत साथमा लिएर देश बनाउने संकल्प थालेको थियौं । तर, एमालेविरोधी शक्तिलाई त्यो अपाच्य भयो’, ओलीले भने, ‘चारतिर फर्केका दलहरुलाई जुटाएर पनि केही काम गर्न सकिन्छ कि भनेर थालेका थियौं । तर, कुन कुन शक्तिबाट चलेका पार्टीहरु उनीहरुकै इशारामा चले र फुत्केर गए ।

त्यसकारण अब एमालेलाई एकल बहुमतको सरकार बनाउने गरी मिसन ग्रासरुट थालिएको हो ।’उनले एमालेलाई थाहै नदिइ र छलफल नै नगरी एमसीसी, एसपीपी ल्याएको बताए । ‘उनीहरु कहाँबाट चलेका छन् भन्ने यसबाटै प्रस्ट हुन्छ नि होइन र रु’, ओलीले भने, ‘यस्ता शक्तिहरुलाई परास्त गर्न एमालेलाई शक्तिशाली बनाउनुको विकल्प छैन । समृद्ध देश बनाउन एमाले बलियो बनाऔं, एमालेलाई शक्तिशाली बनाऔं ।’नेकपा एमालेमा रहने हरेक नेता(कार्यकर्ताले आचरणमा सुधार गर्नुपर्ने बताउँदै उनले भने, ‘यो गंगा जस्तै हो, अन्त खहरेमा रहेका यहाँ आएपछि यहाँ सुध्रनुपर्दछ । पार्टी संगठनको जिम्मेवारीमा पूर्ण बफादार भएर लागौं ।’मिसन ग्रासरुटको मुख्य लक्ष्य पार्टी संगठनमा देखिएको भुत्तेपना हटाउने, खिया हटाउने रहेको बताउँदै अध्यक्ष ओली भने, ‘पार्टी संगठन भुत्ते भएको छ, पार्टीमा खिया लागेको छ, धार नभएको खुकुरीले काट्दैन । सबै मिलेर धार लगाऔं । केही कमजोरी छन् भने माझिऔं, सामान्य कमजोरीलाई इस्यु् बनाएर तुष पाल्नुहुँदैन । पहिले आफैंंमा फेरबदल ल्याऔं, नभए असफल भइन्छ । अबको मिसन ५१ प्रतिशत एक्लै ल्याउने हो, त्यसमा आफ्नो जिम्मेवारी सबैले पूरा गरौं ।’

९ लाख पार्टी सदस्य भएको पार्टीमा त्योअनुसार नतिजा नआएको भन्दै उनले भने, ‘हामीले पार्टीलाई सुदृढ बनाउन नसकेर हो, त्यसमा समीक्षा गरौं, परेको बेला काम गर्न नसक्ने सदस्य बनेर काम छैन । हामी बलियो भए जतिसुकै मुखे गठबन्धन भए पनि केही गर्न सक्दैनन् ।’ग्रासरुट अभियानले पार्टीका नेता(कार्यकर्तालाई फिजियोथेरापी गराउने बताउँदै ओलीले सबैलाई समान जिम्मेवारीका साथ मैदानमा खटाउन सम्बन्धित पार्टी कमिटी तथा जनवर्गीय संगठनहरुलाई निर्देशन दिए ।सोमबार अर्घाखाँची पुगेएका ओलीले जिल्लामा रहेका ७५ वर्षभन्दा माथिका पार्टी सदस्यहरुलाई सम्मान गर्दै पञ्चालयतकालीन समयमा लुम्बिनी अञ्चलको पार्टीको मोर्चा सम्हालेकाले पनि यहाँको धेरै माया लाग्ने बताएका थिए ।उनले सोमबार त्यहाँका केही पर्यटकीय क्षेत्रको अवलोकन गरेर रात बिताउने र मंगलबार पाल्पाको कार्यक्रम भेटाउन पुग्ने बताइएको छ ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६