कपिलवस्तु ७ मङ्सिर
साढे २ वर्षको अवधीमा साढे ४ अर्ब लागतमा गोरुसिङ्गे–चन्द्रौटा सडक निर्माणको सम्झौता भएसंगै अव काम अघि बढ्ने तयारी जारीछ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न भएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको सडक विस्तार योजनाको सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।बुद्धभूमि नगरपालिकाको बेलगुर्दुवा नदीदेखि शिवराज नगरपालिका–६ स्थित उमरी चोकसम्मको १९ दशमलव २ किलोमिटर सडक ‘एक्सेस’ नेपाल फेज वान प्रोजेक्टअन्तर्गत निर्माण हुनेछ। सडक निर्माणका लागि ‘चाइना एमसिसि १७ ग्रुप’ कम्पनीसँग करिब चार अर्ब ५६ करोड रुपैयाँमा सम्झौता भएको छ। आयोजना दुई वर्ष पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।आयोजनाअन्तर्गत बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिनेछ। सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको सडक बनाइनेछ।बढी सवारी चाप हुने चन्द्रौटा चोकमा फ्लाई ओभर तथा ८ सय मिटर लामो भेइकुलर अन्डरपास निर्माण गरिनेछ। साथै पैदलयात्रीका लागि दुई वटा अन्डरपास, दुई ठूला र छ साना गरी आठ वटा पुल तथा ७२ स्थानमा कल्भर्ट निर्माण हुनेछन्। सडकका दुवै छेउमा पैदलमार्ग निर्माण गरिनुका साथै वन्यजन्तु र स्थानीय पशुचौपायाको आवतजावतका लागि समेत अन्डरपास बनाइनेछ। प्रतिघण्टा एक सय किलोमिटरको गतिमा सवारी सञ्चालन गर्न मिल्ने गरी निर्माण हुने सडकमा सडक बत्ती, यात्रु प्रतीक्षालय र सवारी रोक्ने स्थलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया