खोज–अनुसन्धान

विश्व बैङ्कसँग ऋण लिएर बनाएको ऐतिहासिक संरचना अलपत्र




तानसेन ४ जेठ । तानसेनमा विश्व बैङ्कसँग ऋण लिएर बनाएको ऐतिहासिक संरचना अलपत्र बनेको छ । तानसेन नगरपालिकाले ११ वर्षअघि विश्व बैङ्कसँग ऋण लिएर बनाएको नारायणस्थान फूलबारीको ऐतिहासिक संरचना केही वर्षदेखि अलपत्र बनेको हो । नगरपालिकाले उक्त संरचनाको उपयोग र संरक्षण गर्न नसक्दा ऋण लिएर बनाएका संरचना जीर्ण बनेको छ । नारायणस्थान वरपरका ऐतिहासिक संरचनालाई मर्मतसुधार गरेर पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाको योजना थियो । तर उक्त स्थानमा बनेका ऐतिहासिक पाटी, पौवा, शौचालय, स्नान घरलगायतका संरचना प्रयोग हुन सकेको छैन ।विश्व बैङ्कसँग तीन करोड ८० लाख रुपियाँ ऋण लिएर विस २०६९ चैत ८ गतेदेखि तीन स्थानका ऐतिहासिक संरचना बनाउन सुरु गरिएको थियो ।
ढिला गरी निर्माण सम्पन्न भएको संरचना हाल प्रयोगहीन बनेको स्थानीय बासिन्दाको भनाई छ । निर्माण व्यवसाायीले पुराना र जीर्ण संरचनाको निर्माण तथा मर्मतसुधार गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको चार वर्ष बितिसकेको छ । तर निर्माण भएका संरचनाको प्रयोग र रेखदेख हुन नसक्दा ती संरचना जीर्ण बनेको स्थानीय बासिन्दाको भनाइ छ । नगरपालिकाले ऐतिहासिक नारायणस्थान वरपरको फूलबारीलाई प्रयोगमा ल्याउन नसक्दा पाटी, पौवा, विश्रामस्थल, शौचालय भत्किएको छ ।

फूलबारीमा पिकनिक स्थल, अस्थायी संरचना बनाएर साना कफी शप तथा नास्ता खाजा खाने स्थल तथा विश्राम स्थल बनाउन सकिन्छ । यतिमात्र होइन गर्मीको मौसममा शित्तल चाहने मानिसका लागि आराम गर्ने स्थान, विवाह मण्डप तथा हाटबजारका लागि समेत फूलबारी प्रयोग गर्न सकिने तानसेनका बासिन्दा राजु महर्जनले बताउनुभयो । बनेका संरचनालाई नगरपालिकाले उपयोग गर्न नसकेको उहाँले बताउनुभयो ।तानसेन नगरपालिकाले भने नारायणस्थान फूलबारीलाई प्रयोगमा ल्याउने विषयमा हालसम्म योजना बन्न नसकेको जनाएको छ । फूलबारीलाई कुन रुपमा प्रयोग गर्ने भन्ने हालसम्म कुनै योजना नबनेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘नारायणस्थानका संरचना र जग्गालाई कसरी प्रयोग भन्ने हालसम्म कुनै निर्णय हुन सकेको छैन ।’ नगरपालिकाले मात्र होइन, नारायणस्थान गुठी व्यवस्थापन समितिले समेत यसको रेखदेख र उपयोग गर्न नसकेको स्थानीय बासिन्दाको भनाई छ ।

दश वर्षअघि बनेका पाटी, पौवा, शौचालय, प्याराफुट, तथा अन्य संरचनाको उचित संरक्षण हुन सकेको छैन । पाँच वर्षअघि ऐतिहासिक संरचना बनाउँदा लापरबाही गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो । नारायणस्थान मन्दिर सेना वंशको पतनपछि वि।स।१८६३ मा मुख्तियार अमरसिंह थापाले बनाउन लगाएका थिए । नारायणस्थान मन्दिरभित्रका टुंडालमा कामकलाका आकृति कोरिएका छन् ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६