अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको श्रम बजारमा सुधार, युवाको रोजगारीमा भने निरन्तर गिरावट



सोल, २५ कात्तिक (रासस/सिन्ह्वा):
दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखको दायरामा कायम रहेको छ । सेवा क्षेत्रका उद्योगमा रोजगारी बढे पनि होटल तथा रेस्टुरेन्ट र निर्माण क्षेत्रमा आएको गिरावटले श्रम बजारमा चुनौती देखिएको सरकारी तथ्याङ्कले जनाएको छ । दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्यांक मन्त्रालयका अनुसार अक्टोबरमा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा एक लाख ३९ हजार अर्थात् ०.५ प्रतिशतले बढेर २ करोड ९१ लाख ७९ हजार पुगेको छ । जुलाईदेखि लगातार रोजगारी वृद्धि १ लाखको दायरामा रहँदै आएको हो । १५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको समग्र रोजगारी दर ०.१ प्रतिशत बिन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । तर १५ देखि ६४ वर्ष उमेर समूहको रोजगारी दर भने ०.३ प्रतिशत बिन्दुले बढेर ७०.४ प्रतिशत पुगेको छ । सन् १९८९ देखि तथ्याङ्क राख्न थालिएयता अक्टोबर महिनाका लागि यो उच्चतम दर हो । क्षेत्रगत रूपमा आवास तथा खाद्य सेवा क्षेत्रमा १ लाख ३७ हजार रोजगारी घटेको छ । उत्पादनमूलक उद्योगमा ७ हजार र निर्माण क्षेत्रमा ४२ हजार रोजगारी घटेको छ । निर्माण क्षेत्रमा लगातार ३० महिनादेखि रोजगारी घटिरहेको छ । यसको विपरीत स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा २ लाख ४९ हजार, यातायात तथा भण्डारण क्षेत्रमा ४८ हजार र व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा ३७ हजार रोजगारी थपिएका छन् । युवा रोजगारीको अवस्था भने चिन्ताजनक देखिएको छ। अक्टोबरमा १५ देखि २९ वर्ष उमेर समूहका रोजगारीमा रहेका युवाको संख्या १ लाख ९६ हजारले घटेको छ । युवामा रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी छ । यसैबीच, बेरोजगारको संख्या ६ लाख २ हजार पुगेको छ भने बेरोजगारी दर २ प्रतिशतमा झरेको छ । आर्थिक रूपमा निष्क्रिय जनसंख्या भने एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको छ । —

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६