अर्थ-वाणिज्य

केपी ओलीले लगाएको खेती प्रचण्डले स्याहार्ने




रुपन्देही ४ जेठ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले लगाएको खेती प्रचण्डले स्याहार्ने भएकाछन् । यो प्रसंग हो २०७७ साल फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा बुटवलबाट पाल्पाको दुई डाँडा बसन्तपुर र नुवाकोटमा जाने दुई केवलकार १० दिनको अन्तरमा शिलन्यास गरिए ।धेरैलाई विश्वास लागेको थिएन यति छिटै यहाँ केबलकार संचालनका लागि तयार हुन्छ भनेर । उद्घाटनपछि धेरैले सामाजिक सन्जालमा लेखे यो संचालन गर्न दशकौं लाग्नसक्छ अहिले चर्चामा आउन मात्रै शिलन्यास गरिएको हो ।
तर कोरोना महामारी, बढ्दो आर्थिक संकटलाई झेल्दै लगानीकर्ताले जोखिम मोलेरै अर्बौ लगानी गरेर संचालनको अन्तिम तयारीमा पुराएका छन् ।बुटवलको दुई उत्तरी डाँडामा तयार भएका केबलकारमध्ये केपी ओलीले ०७७ फागुन १ गते ओलीले शिलन्यास गरेको केबलकार यही जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयारी भएको छ ।
बुटवलबाट पाल्पाको बसन्तपुर डाँडामा जाने लुम्बिनी केवलकार यही जेठ १४ गतेदेखि संचालनमा आउने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई ग्रुपको अगुवाईमा संचालन हुन लागेको हो ।बुटवलदेखि पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरसम्म २।६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १४ गतेदेखि सञ्चालनमा ल्याउनेगरी तयारी भएको सो कम्पनीका प्रतिनिधिले जनाएका छन् ।
यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै रोकिएको थियो । यसैको तयारीका लागि चन्द्र ढकाल केही दिन यता बसेर काठमाडौँ फर्किएका छन् ।
लुम्बिनी केवलकार प्रा।लिका प्रोजेक्ट म्यानेजर गोकुल साउदले अहिले परीक्षण रूपमा केवलकार सञ्चालन भएको र १४ वा १५ गते औपचारिक रूपमा शुभारम्भ गर्ने गरी तयारी थालिएको जानकारी दिए । अहिले १५ वटा गोण्डाला राखेर परीक्षण भइरहेको छ ।बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । केवलकारको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने निश्चित भएको साउदले बताए ।‘१४ वा ‘१५ गते प्रधानमन्त्रीको हातबाट केवलकार शुभारम्भ गर्ने तयारी भएको छ, प्रधानमन्त्रीको समय मिलाएर दिन तय हुन्छ, विशेष अवस्थाबाहेक १५ गतेभित्रै केवलकारको उद्घाटन हुन्छ’, उनले भने ।
केबलकारको बुटवल उपमहानगरपालिका ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । कम्पनीले साढे ३ अर्बको लागतमा केबलकार निर्माण गरेको हो । साउदले बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी नयाँ धार्मिक गन्तव्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यान निर्माणको काम अहिले भइरहेको बताए ।मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिनेछ । अहिले १५ वटा गोन्डालाबाट परीक्षण भइरहे पनि ९ वटा थपेर २४ वटा गोन्डाला राखिने साउदले बताए ।१० मिनेटको यात्रामै तराईदेखि पहाडसम्मको मौसमको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केवलकार सञ्चालनपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको २ दशमलव ६ किलोमिटर बीचमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।
‘यो केबलकार शिलन्यास भएको १० दिनपछि एमाले उपाध्यक्ष तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेको बुटवलको अर्को सिद्धार्थ केबलकारको पनि धमाधम निर्माण भइरहेको छ । पुरानो बुटवलस्थित बुटवल मावि माथिबाट पाल्पाको नुवाकोट डाँडामा जानेगरी यो केबलकार असोज १ गते संचालनको तयारी भइरहेको छ । निर्माणको काम धमाधम भइरहेको छ, असोज १ गते संचालन गर्नेगरी काम भइरहेको छ’, अध्यक्ष राजेन्द्रसिंह गुरुङले भने ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटकलाई भुलाउने आधार क्षेत्र हुन् यहाँका दुई केबलकार । त्यसैगरी लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म ल्याउनसकेमा यस क्षेत्रको पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।केबलकार यो क्षेत्रको विकासको ड्रीम प्रोजेक्ट भएकाले पनि लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउने पाल्पाको डाँडामा बसाउने गरी पर्यटन विकासमा टेवा पुर्याउने मूल उद्देश्य रहेको पर्यटन व्यवसायी माधव नेपालको भनाइ छ ।
सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । करिब दुई किलोमिटर लम्बाई रहेको सिद्धार्थ केबलकारमा एकपटकमा ८ जना यात्रु बोक्ने क्षमता भएका २५ वटा गन्डोला रहनेछन् ।नुुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठेदरबार, सेनकालीन भग्नावशेष दरबार नुुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउने र बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका पर्यट व्यवसायी नेपाल बताउँछन् ।
त्यस्तै, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको छ । नुवाकोटगढी पुग्न सडक निर्माण सम्पन्न भएपछि पर्यटकीय पूर्वाधारहरू निर्माणको कामले पनि गति लिएको छ । नुवाकोटमा भ्यूटावर बनिसकेको छ, सांस्कृतिक डबली दरबार क्षेत्रमा पार्क निर्माणलगायतका संरचना बनिसकेका छन् ।बुटवल मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको मानव सभ्यताको उद्गमस्थल पनि हो । ऐतिहासिकता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने नाट्टा लुम्बिनीका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
लुम्बिनी केबलकार बन्ने वसन्तपुरमा पहिले सिद्धबाबाको मन्दिर रहेको थियो । त्यहाँ दर्शन गर्न मानिसहरू जान अप्ठ्यारो भएपछि सिद्धार्थराजमार्गको नजिकै तिनाउ नदीको किनारामा ल्याइएको इतिहासकारहरू बताउँछन् । वसन्तपुरबाट मनोरम हिमशृंखलाका साथै तराईका फाँट र भारतको नौतुनहवासम्मका दृश्य अवलोकन गर्न सकिन्छ ।लुम्बिनीसँग जोडिएर ठूला पूर्वाधार निर्माण भएपछि निजी लगानीकर्ता आकर्षित भएका हुन् । भैरहवा गौतमबुद्ध विमानस्थल र बेलहिया नाका हुँदै लुम्बिनी आउने पर्यटकलाई केबलकारमार्फत पहाडी पर्यटनमा प्रवेश गराउने योजना बनाइएको छ ।वसन्तपुरमा कामक्षा मन्दिर निर्माण र सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनको तयारीमा छन् । बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिकस्थल तथा बाल उद्यानहरु निर्माण गरिने योजना व्यवसायीको छ ।श्रोत : नेपालप्रेस

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६