पर्यटन

विवादमा पर्दै आएको लुम्बिनी विकास कोषमाथि मन्त्री किरातीका यस्ता छन प्रश्नहरु

मन्त्रीका प्रश्नले लुम्बिनी विकास कोषले गुरुयोजनाविपरीत गरेका काम उदांगिएको सरोकारवालाको जिकिर छ ।



जेष्ठ ८, काठमाडौँ — विभिन्न विवादास्पद निर्णयका कारण विवादमा पर्दै आएको लुम्बिनी विकास कोषमाथि संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले विभिन्न प्रश्न गर्नुभएको छ। लुम्बिनी विकास कोषले गरेको काममाथि प्रश्न गर्दै उहाले जवाफ माग्नुभएको हो । आइतबार लुम्बिनी विकास कोषलाई पत्र लेख्दै उहाले विभिन्न १३ प्रश्न उठाउनुभएको हो ।

मन्त्री किरातीले आफूले उठाएका प्रश्नको यथार्थ विवरण पेस गर्न लुम्बिनी विकास कोषलाई निर्देशन पनि दिनुभएको छ । ‘कोषले राय प्रतिक्रियासहित १५ दिनभित्र मन्त्रालय पुग्ने गरी जवाफ पठाउन निर्देशन गर्दछु,’ उहाले भन्नभएको छ। मन्त्रीका प्रश्नले लुम्बिनी विकास कोषले गुरुयोजनाविपरीत गरेका काम उदांगिएको सरोकारवालाको जिकिर छ ।

लुम्बिनी विकास कोषको क्षेत्राधिकारभित्र तोकिएका कतिपय काम भइसकेका र कतिपय भइरहेको सम्बन्धमा कोषको हितविपरीत र गैरकानुनी रूपमा काम भएको भन्ने गुनासो र जानकारी आएकाले मन्त्रालयले ७ जेठमा पत्राचार गरी प्रश्न सोधेको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत पनि स्पष्ट पार्नुभएको छ ।

मन्त्रालयले पश्चिमी क्षेत्रको महायानी पोखरीभित्र अनधिकृत रूपमा शाक्यमुनि बुद्धको प्रतिमा बनाउन दिएको हो कि होइन भनेर पनि प्रश्न सोध्नुभएको छ। गुरुयोजनाभित्र विहार, मन्दिर, स्तुपा बनाउन आफूखुसी बदनियतपूर्वक जग्गाको प्लट दिइएको हो भने स्पष्ट पार्न भनिएको छ । समय सीमाभित्र काम नगर्ने सोक्यो जापानको सम्झौता खारेज गर्ने तर भौतिक पूर्वाधारको काम नगर्ने कतिपय अन्य गुम्बा र विहारको समयावधि आफूखुसी बढाउँदै लगिएको यथार्थ के हो रु त्यसको विवरण पनि मन्त्री किरातीले माग गर्नुभएको छ।

मायादेवी मन्दिर वरिपरि पोखरीमा उभयचर, सरिसृप र वन्यजन्तु मार्ने गरी आधुनिक पोखरी निर्माण गर्न करोडौंको टेन्डर निष्कासन गरी रकम अपचलन गरेको गुनासो आएकाले के भएको हो भनेर मन्त्री किरातीले प्रश्न गर्नुभएको हो । कोषभित्र के कति संस्थाले काम गरिरहेका छन्, तिनीहरूको नवीकरणको अवस्था र नवीकरण नगरी काम गरिरहेका छन् भने के कस्तो विधि, प्रक्रिया र पद्धतिबाट काम गर्न दिइएको हो, सोको जवाफ पनि मन्त्री किरातीले मागेका छन् । कोषभित्र अहिले के कस्ता निर्माण परियोजना सञ्चालन भइरहेका छन्, कुन कुन निर्माण कम्पनीलाई कुन विधिबाट दिइएको हो भनेर पनि लुम्बिनी विकास कोषलाई प्रश्न सोधिएको छ ।

त्यहाँ कुन कुन संरचना गुरुयोजनाविपरीत बनेका छन् ? पछिसम्म फरक नपर्ने गरी विवरण पेस गर्ने र अहिले त्यहाँ अघि बढाइएको ३ अर्बको ठेक्का गुरुयोजनाअनुरूप छ कि छैन ? इस्टिमेट गर्दा गुरुयोजनाविपरीत धेरै विषयमा काम भइरहेकाले के कति कारणले उक्त काम गरिएको हो, विवरण पेस गर्न भनिएको छ । कोषको केन्द्रीय नहरमा मोटरबोट सञ्चालन गर्न कुन कानुन, विधि र प्रक्रियाबाट दिइएको हो ?

त्यसले वायु र ध्यनि प्रदूषण गरेको गुनासो आएकाले यथार्थ लेखी पठाउन पनि मन्त्री किरातीले निर्देशन दिनुभएको छ । गुरुयोजनाको उत्तरी क्षेत्रमा रहेको सारस क्रेन स्याङचुरी मनपरि ढंगले उपयोग भइरहेको गुनासो आएकाले के भएको हो, सो लेखी पठाउन पनि भनिएको छ । यो क्रेन स्याङचुरीका सञ्चालक कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी हुनुहुन्छ । कोषलाई ५ वर्षयता विभिन्न दाताले दिएको रकमको यथार्थ विवरण र सोको परिचालनको अवस्थाबारे पनि मन्त्री किरातीले प्रश्न गर्नुभएको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले पदको दुरूपयोग गरी विभिन्न संस्थाबाट मासिक तलब बुझ्ने गरेको विषयमा के भएको हो, सोको जानकारी दिन पनि मन्त्री किरातीले लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र उद्घाटन भएको एक वर्ष नपुग्दै चुहिन थालेकाले के भएको हो ? हस्तान्तरण भएको छ कि छैन ? यसको दायित्व कसमा अन्तरनिहित छ ? सो खुलाई पठाउन पनि उहाले भन्नुभएको छ ।

आर्थिक पारदर्शिता र सुशासनको अभावमा कोषभित्र बेथिति बढ्दै गएकाले मन्त्रीको ध्यानाकर्षण हुनु स्वाभाविक भएको लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो ।

‘लुम्बिनीप्रति सरोकार राख्ने समुदायले लुम्बिनी विकास कोष अहिले उपाध्यक्ष, सदस्य–सचिव र योजना प्रबन्धकको प्राइभेट कम्पनीजस्तो भएको आरोप लगाउने गरेका छन्,’ शर्माले भन्नुभयो, ‘यसले पनि लुम्बिनीको गरिमा र महत्त्व घटाउदै लगेको छ ।’ लुम्बिनीको बेतिथि अन्त्य गर्न मन्त्रालयले चासो लिएर काम गर्नु राम्रो भएको कोषका बोर्ड सदस्य नेत्र शाहीले बताउनुभयो ।

मन्त्रालयद्वारा प्रश्न सोध्दैमा अत्तिहाल्लु नपर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो ।मन्त्रीद्वारा लुम्बिनी विकास कोषलाई प्रश्न सोधिनु सकारात्मक भएको सदस्य–सचिव सानुराजा शाक्यले बताउनुभएको छ । बुद्ध जन्मस्थलबाट शान्तिको सन्देश र अध्यात्मिकता फैलाउन जापानका वास्तुकलाविद् प्रो। केन्जो टाँगेले सन् १९७८ मा बनाएको गुरुयोजना ४५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । उहाले ६ वर्ष लगाएर तयार गरेर दिएको गुरुयोजना तत्कालीन लुम्बिनी विकास समितिले १९७८ मा स्विकृत गरी कार्यान्वयन थालेको थियो ।

अहिले लुम्बिनीभित्र ३ अर्बको विकास निर्माणका काम भइरहेका छन् । विशाल पुल, साँघुरा बाटो बढाउने, गार्डेन, पोखरी र फाउन्टेन पार्क निर्माण भइरहेका छन् । अहिलेको विकास निर्माणले लुम्बिनी हेरिटेज होइन, क्रंक्रिट मैत्री हेरिटेज बन्दै गएको स्थानीय हुसैनी लोधले सुनाउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र उद्घाटन भएको एक वर्ष नपुग्दै चुहिन थाल्नु दुर्भाग्य भएको स्थानीय प्रह्लाद यादवले बताउनुभएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६