अन्तर्राष्ट्रिय

प्रचण्डको भारत भ्रमण: पेट्रोलियम पाइपलाइन सहित तीन परियोजनामा हस्ताक्षरको तयारी




कपिलवस्तु १२ जेठ । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ ।त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमण र समझदारीको एजेन्डाबारे तयारी गरिरहेको नेपालस्थित भारतीय दूतावास र नेपाली अधिकारी बीच पेट्रोलियम पाइपलाइन परियोजनासहित दुई पक्षीय वाणिज्य व्यापारका एजेण्डामा सहमति जुटिसकेको छ ।गत २७ र २८ पुस २०७६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्याँस जोइन्ट वर्किङ समूहको पहिलो बैठकमा नेपालले सिलुगडी(झापा पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन गर्न भारतसमक्ष प्रस्ताव गरेको थियो ।करिब ३५ किलोमिटर लामो उक्त परियोजनाका लागि २०७६ फागुनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले पाइपलाइन क्षेत्र रेखाङ्कन गरेको थियो । झापामा ५० देखि ६० हजार किलोमिटर क्षमताको इन्धन भण्डारण गर्न सकिने अध्ययनमा देखिएको छ ।
यस्तै, हालको अमलेखगञ्जसम्मको पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथर ल्याई त्यहाँ ९० हजार किलोमिटर क्षमताको भण्डारण निर्माण गर्न सकिने अध्ययनमा देखिएको थियो । अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर पाइपलाइन बनाउन सकिने आईओसीले गरेको सर्भेमा देखिएको थियो ।
एक वर्षअघि नै भएको सर्भेमा पाइलाइन निर्माणमा २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । दुई देशका सरकार प्रमुखबीच हुने समझदारीमा आयोजना निर्माण सम्पन्न गर्ने समय अवधि नै किटान हुने पनि मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्रीको भारत भ्रमणमा कञ्चनपुरको दोधरा(चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माण सम्झौता पनि हुने भएको छ । नेपालले निर्माण अघि बढाएको उक्त परियोजना भारतले बनाइदिने आश्वासन पछि सरकारले मन्त्रिपरिषद्‍बाटै निर्णय गरेर केही अघि आयोजनाबाट पछि हटेको थियो ।प्रधानमन्त्रीको भ्रमणमा नेपालगञ्ज सुख्खा बन्दरगाह पनि दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । भारत सरकारको सहयोगमा बनेको उक्त सुख्खा बन्दरगाह बाँकेको जयसपुरमा निर्माणाधीन छ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६