प्रदेश

गौतमबुद्ध विमानस्थलका लागि यस्तो शर्तमा भारतले रुट दिने



काठमाडौँ, १७ जेठ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गएको बेला अन्तर्राष्ट्रिय विमानस्थलहरुको रुटको बारेमा पनि छलफल हुने एजेण्डा तय गरेपछि भारतले त्यसका लागि सर्त अघि सारेको बताइएको छ ।

भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ ।’

केही पहिलो पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वको टोलीले भारत गएर नै छलफल गरेको थियो । तर, भारतबाट सकारात्मक प्रतिक्रिया नआएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । उनले भने, ‘नेपाल–भारतको एयरपोर्टसम्बन्धी विवाद कर्मचारी लेभलबाट समाधान हुने सम्भावना छैन । हाइलेवलबाट मात्र मिल्ने देखिन्छ । किनकि भारतसँग जतिपटक छलफल गर्यो, त्यति वटा सर्त राख्ने गरेको छ ।’

भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भारत आफै चिन्तित देखिन्छ । लुम्बिनीबाट १८० किलोमिटर मात्र टाढा रहेको कुशीनगरको एयरपोर्ट बनाउँदा नेपालको लुम्बिनीलाई लक्ष्य गरी बनाइएको थियो । बुद्धिष्ट हब बनाउनका लागि भारतले कुशीनगरको एयरपोर्ट बनाएको थियो । तर नेपालमा पनि त्यस्तै एयरपोर्ट बन्न थालेपछि भारत असन्तुष्ट बन्दै आएको थियो ।

कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्न सक्ने प्रणाली ‘आईएलएस’ यन्त्र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा जडान गरिएको छ । जसको कारणले भारतले असुरक्षाको महसुस गरिरहेको छ ।

त्यसो त भारतले सुरुमा भैरहवा एयरपोर्टमा जडान गरिएको ‘आईएलएस’ प्रयोग गर्नसमेत रोकेको थियो । विमानस्थलमा जोडिएको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको थियो । तर, भारतले अनुमति दिन चाहेको थिएन । यद्यपि यो अहिले प्रयोगमा आइरहेको छ । तर फुलफेजमा प्रयोग भएको छैन ।

नेपाल–भारतको सीमामा रहेको गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्प पनि रहेका कारण भारतले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई संवेदनशील रुपमा लिएको छ ।

गोरखपुरमा एयरफोर्स भएको कारण त्यहाँ फाइटर विमान आउजाउ भइरहेका कारण ‘आईएलएस’ बाट त्यसको जानकारी प्राप्त गर्न सक्छन् । भैरहवा विमानस्थलको राडारले त्यसलाई तान्न सक्छ भनेर भारतले त्यहाँ आफ्नो एक जना कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेको छ ।

एयर रुटको अनुमति दिएपछि भैरहवा विमानस्थलमा ओर्लिने विमानहरु आर्मी क्याम्पमाथिबाट नै आउने छन् । त्यसले गर्दा भारत आफ्नो सुरक्षामा ढुक्क हुन सकेको छैन ।
परराष्ट्र मन्त्री एनपी साउदले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगको केही असमझदारीलाई हटाउने बारेमा छलफल हुने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले एयर रुटलगायतका विषयमा भारतसँग पहिलादेखि नै छलफल हुँदै आइरहेको तथा प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा थप छलफल गरेर टुंग्याइने बताए ।

एयरपोर्टमा भारतीय कर्मचारी राख्ने प्रस्तावबारे आफ्नो जानकारीमा नरहेको दावी गर्दै महानिर्देशक पाण्डेले प्रधानमन्त्री प्रचण्डको भ्रमणले सबै कुरा टुंगिने विश्वास आफूले लिएको बताए ।

अहिले भैरहवा एयरपोर्टबाट कुनै पनि अन्तरराष्ट्रिय उडान भइरहेको छैन । जजिरा एयरले पनि आफ्नो उडान स्थगित गरेको छ । नेपाल वायु सेवा निगमले भने उडान गर्ने तयारी गरिरहेको महानिर्देशक पाण्डेले बताए ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६