पर्यटन

स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिँदै १७ औँ कपिलवस्तु महोत्सव



कपिलवस्तु, ३० कात्तिक

कपिलवस्तु महोत्सवलाई फरक, मौलिक र प्रभावकारी शैलीमा सम्पन्न गरिने भएको छ। १७ औँ कपिलवस्तु महोत्सवलाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने आयोजकले जनाएको छ।
कपिलवस्तु उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारी तथा प्रचारप्रसारका विषयमा बाणगङ्गाका सञ्चारगृहका प्रमुखसँग आयोजना गरेको अन्तरक्रियामा महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवं सङ्घका अध्यक्ष गणेशबहादुर क्षेत्रीले सञ्चार माध्यमसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै महोत्सव सफल बनाउने बताउनुभयो।
उहाँका अनुसार महोत्सवमा ३५० स्टल रहनेछन्। त्यसमध्ये ५० स्टल स्थानीय उत्पादनको प्रवद्र्धनका लागि छुट्याइनेछ। सबै क्षेत्रको प्रतिनिधित्व र सहभागिता सुनिश्चित हुने गरी मूल व्यवस्थापन समिति निर्माण गरिने उहाँले जानकारी दिनुभयो।
महोत्सव निर्देशक हुमनाथ पौडेलले नयाँ शैली र प्रभावकारी व्यवस्थापन मार्फत यसपटकको महोत्सवलाई थप आकर्षक बनाइने बताउनुभयो। सङ्घका पूर्वअध्यक्ष विष्णुप्रसाद न्यौपाने र डोलकराम घिमिरेले महोत्सवलाई जिल्लाको गौरवसँग जोड्दै सबै क्षेत्रको साझा सहभागितामा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बुद्ध आवाज टेलिभिजन तथा रेडियोका व्यवस्थापक भेषराज पाण्डे, बुद्ध दर्पण दैनिकका प्रबन्ध निर्देशक लक्ष्मण प्रसाद बेल्बासे, लुम्बिनी दर्पण साप्ताहिकका प्रबन्धक मोहन बेल्बासेलगायतले सञ्चारमाध्यमको भूमिका र महोत्सवलाई स्थानीय अर्थतन्त्र, संस्कृति तथा पर्यटनसँग जोड्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो।
पत्रकारहरूले महोत्सवको प्रचारप्रसारमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सङ्घले महोत्सव अवधिभर उत्कृष्ट समाचार लेखन गर्ने दुई जना पत्रकारलाई सम्मान गर्ने जनाएको छ। सङ्घका प्रेस सल्लाहकार अशोक पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमबारे सङ्घका महासचिव नवदत्त घिमिरेले जानकारी दिनुभयो।

प्रकाशित : १ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६