अन्तर्राष्ट्रिय

प्रचण्डको भारत भ्रमणवाट लुम्बिनी प्रदेशलाई ३ फाइदा




कपिलवस्तु १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा लुम्बिनी प्रदेशका तीन महत्वपूर्ण आयोजनामा हस्ताक्षर भएको छ ।१३ महिनाअघि निर्माण सम्पन्न भएर भारतीय हवाई रुट नपाएका कारण पूर्ण सञ्चालनमा आउन नसकेको रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँकेको नेपालगञ्जस्थित जैसपुरमा निर्माण भएर सञ्चालनमा आउन नसकेको एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन र रुपन्देहीको भैरहवामा लामो समयदेखि निर्माण सुरु हुन नसकेको एकीकृत जाँच चौकी निर्माण सुरु प्रधानमन्त्री भ्रमणबाट लुम्बिनीले पाएका महत्वपूर्ण उपलब्धि हुन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी भारतले अनुमति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भारतीय पक्षको आईएलएस स्वीकृति दिने गरी समझदारी बनेको हो । योसँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित (आईएलएस) विमानहरू अवतरण हुनसक्ने भएका छन् ।यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतम बुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् । आईएलएस उपकरणमा आधारित ल्यान्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् ।
बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलगत्तै सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधासमेत खुला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरूले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने जानकारी दिए ।२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरे पनि विभिन्न समस्या देखाउँदै नियमित गर्न सकेको छैन । हप्तामा तीन दिन उडान भरेको जजिराले जाडो मौसमको तीन महिना पूर्ण रुपमा सेवा बन्द गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणबाट बाँकेमा निर्माण भएर तयार भएको अर्को ठूलो परियोजना उद्घाटन भएको छ । बाँकेको नेपालगञ्जस्थित जैसपुरमा निर्मित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गरिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले नेपालगञ्जस्थित नाकामा निर्माण भएको उक्त आईसीपी बिहीबार संयुक्तरुपमा उद्घाटन गरेका थिए ।त्यसक्रममा नेपाल(भारतका अधिकारीहरु नेपालगञ्जमा उपस्थित थिए । भारतका डीएम प्रशान्त वर्मा, जीएम प्रदीप त्यागी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, प्रहरी प्रमुख सन्तोष राठौरलगायतको सहभागिता थियो ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले यसबाट दुई देशको व्यापार प्रवर्द्धन गर्न सहज हुने बताए । ‘सामान लिएर भैरहवा र विराटनगर पुग्नुपर्ने बाध्यता हटेको छ, अब आयात निर्यातको काम नेपालगञ्जबाट व्यवस्था मिलाइएको छ’, उनले भने ।
एकीकृत भन्सार जाँच चौकी भारतको सहयोगमा निर्माण भएको हो । नेपाल(भारत सीमाको जमुनाह नाकाको व्यापारलाई उक्त पूर्वाधारले सहयोग पुग्नेछ । आईसीपी उद्घाटनसँगै नेपालबाट जडिबुटी बोकेको गाडी भारत गएको छ । भारतबाट पेट्रोल पम्पको गाडी नेपाल आएको छ ।आईसीपीदेखि नेपालगञ्जको चौलिकासम्मको २ हजार ७ सय मिटर पहुँचमार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गरेको हो  ।संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यको जिम्मा भने दुवै देशको सहमतिअनुसार भारतीय पक्षले लिएको थियो ।लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको सुरुवात भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा यसको शुभारम्भ भएको हो ।नेपालको तर्फबाट जग्गा छुट्याइए पनि भारतले जग्गा नदिँदा डेढ दशक रोकिएको थियो । केही समयअघि जग्गा व्यवस्थापन भएर आईसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको थियो ।
यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स लखनउलाई आईसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको थियो । यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङको रुपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको थियो । उद्घाटन भएसँगै अब निर्माणको काम अघि बढ्ने विश्वास गरिएको छ ।करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन । नेपालतर्फ ठेक्काका लागि काम सुरु हुने निश्चित भए पनि भारततर्फ भने ठेक्का लाग्न सकेको थिएन ।आयात(निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो । चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण गरिने योजनाअनुसार वीरगञ्जमा यसअघि नै आईसीपी निर्माण भई सञ्चालनमा आइसकेको छ ।
आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ ।भैरहवामा बन्ने आईसीपी निर्माणको ठेक्का भारतीय निर्माण कम्पनीले एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा पाएको छ । भारतीय ठेकेदारले दुई वर्षभित्र निर्माण सम्पन्न गरी नेपाललाई बुझाउनुपर्ने सर्त छ ।३५।११ हेक्टरमा फैलिएको आईसीपीमा आयाततर्फ ६९२ र निर्याततर्फ २७० वटासम्म ट्रक पार्किङ गर्न मिल्नेछ । आईसीपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकाय एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ ।साथै व्यापारिक लागत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहज रुपमा सेवा प्रदान गर्न सकिने व्यवसायीको भनाइ छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६