सिन्धुपाल्चोक १५ भदौ । भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरिँदै छ । शुक्रबार ९सेम्टेम्बर १० देखि सर्वसाधारणका लागि नाका खोल्न लागिएको हो । नाका खुल्ने खुसीमा मितेरी पुल र लिपिङक्षेत्र झकिझकाउ बनाइएको छ ।नाका खोल्न गत सातादेखि नै खण्डहर लिपिङ क्षेत्रमा पहिरोको अवरोध र भग्नावेश हटाउन थालिएको थियो । पारि चिनियाँ क्षेत्रमा नाका पूर्ण रूपमा खोलिएसँगै आवश्यक काम भइरहेकाले यहाँ पनि पूर्वाधार व्यवस्थापनको काम भइरहेको भोटेकोशी–२ का अध्यक्षकुमार श्रेष्ठले जनाए । ‘एक एस्क्साभेटर र टिपरसहित अन्य सवारी प्रयोग गर्दै लिपिङमा बर्खायता थुप्रिएका पहिरो हटाएका छौं, नाका सञ्चालनको पूर्वसन्ध्यामा लिपिङ यार्ड, खण्डहर र भग्नावशेष सफा गर्ने प्रयासमा छौं,’ वडाध्यक्ष श्रेष्ठले भने ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सुरुमा पास लिएकाहरू पुल पारिको बजारसम्म जान पाउनेछन् ।०७२ वैशाख १२ को भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी र गत वैशाख १८ मा निर्यात खुलेको थियो । आठ वर्षपछि नेपाल र चीनका नागरिक आउजाउ गर्न पाउने हुँदा पर्वझैं वातावरण बनेकाले आवश्यक तयारीमा कस्सिएको अध्यागमन कार्यालय कोदारीका प्रतिनिधि तिलक मगरले बताए । ‘सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई आउजाउ गर्न आवश्यक कागजात तयारी अवस्थामा छन्, भूकम्पअघि प्रयोग भएका हरियो र वानडे दुवै किसिमका प्रवेश पास जारी गरिएको छ, जसमा सुरुमा दुई सय तीन जानका लागि पास जारी भएको छ,’ मगरले भने ।
सीमाबाट ३० किमि क्षेत्रका स्थानीयलाई हरियो र अन्यले वानडे पास पाउने प्रावधान रहेको उनको भनाइ छ । नाकामा अत्याधुनिक मितेरी पुल र लार्चामा तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघि चिनियाँ कम्पनीले बनाइदिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड र सुरक्षा गेट भूकम्प एवं भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको थियो ।
जनप्रतिनिधिकै अगुवाइमा ती भवनमा रङरोगन गरेर मर्मतसम्भारको काम अघि बढाइँदै छ । उता चिनियाँ अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना अन्तिम चरणमा पुर्याइसकेको र अन्य तयारी पनि भइरहेको बताउँदै आएका छन् । ‘सीमा जोड्ने कोदारी राजमार्ग २६ किलोमिटर अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ, त्यसैलाई दृष्टिगत गरी सीमा क्षेत्रमा सडकलाई केही सरसफाइ गरिएको छ,’ उनले भने ।
तातोपानी नाकाबाट यसअघि गत वैशाख १८ मा निर्यात खुलाइएको थियो । नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको एघारौं बैठकले तातोपानीलाई आगामी दुई महिनाभित्रै सर्वसाधारणका लागिसमेत खुलाउने सहमति गरिएको थियो । खासाबाट सामग्री ल्याउन लिपिङमा रहेको पुरानो भन्सार कार्यालयमा छोटी भन्सार सुरु गर्ने तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको भनाइ छ । ‘नाकाबाट आउजाउ सुरु भएपछि सामान ल्याउन थालिनेछ, छोटी भन्सारले समय र प्रोटोकल पालनमा सहज हुन्छ, भन्सार निर्देशिकामा भएबमोजिम महसुल लिने व्यवस्था मिलाउँछौं,’ उनले भने ।
भूकम्पपछि विस्थापित खासाको रौनक अझै उठ्न सकेको छैन । आउँदो सेटेम्बरभर झन्डै १५ प्रतिशत स्थानीय फर्किने आशा गरिएको छ । सर्वसाधारणका लागि नाका खोलिएलगत्तै वारि र पारि सीमित मात्रै व्यवसाय र अन्य संरचना सञ्चालनमा ल्याइने भएको छ । तत्कालका लागि लिपिङ पारि (चीनतर्फ) एक दर्जन पसल चल्तीमा ल्याइएको छ । केही दिनमा रमिते र खासा क्षेत्रमा पनि केही पसल सञ्चालनमा ल्याइने चीनस्थित सिल्क ट्रान्सपोर्टका साङदेन शेर्पाले बताए । खासामा व्यापारी फर्किएपछि मात्रै तातोपानी क्षेत्रको व्यवसाय पूर्ण रूपमा सक्रिय हुने गर्छ । नेपाली कन्टेनरले ल्याएका सामग्री जाँच्न चीनले रमितेमा नयाँ भन्सार कार्यालय बनाइएको छ । नेपालबाट सामान लिएर जाने कन्टेनर खासासम्म पुग्न पाउने सुविधा दिइएको व्यवसायी दोर्जे लामाले जनाए । ‘खासा पार्किङ पुनर्निर्माण भएको छैन, त्यो नबनेसम्म आयात हुने सामान लिन कन्टेनर खासा जान पाएनन्,’ उनले भने ।
१५ भाद्र २०८०, शुक्रबार
प्रतिक्रिया