अन्तर्वार्ता

‘कार्यशालाले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागर गर्नेछ’



ढुण्डिराज भट्टराई (सिद्धिचरण )
कोषाध्यक्ष लुम्बिनी विकास कोष

प्राचिन शाक्य गणराज्य तिलौराकोट दरबारवाट ६ कि.मी. उत्तरमा छ ‘सगरहवा’ । पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी दक्षिण जगदिशपुर तालको कोखैमा यो स्थान छ । सगरहवा शाक्यहरुको सामुहिक बध गरिएको स्थलको रुपमा विभिन्न बौद्ध साहित्य तथा चीनिया यात्रीहरुको यात्रा बृतान्तमा उल्लेख गरिएको छ ।यसकारण यो स्थल ऐतिहिासक, धार्मिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण थलो हो । त्यहि ऐतिहासिक, प्राचिन र पर्यटकीय स्थल सगरहवामा अहिले निर्जिव ढुंगालाई मूर्तिकारहरुले जीवन्त बनाउन लागि परेका छन् । पुस २३ गतेदेखि शुरु भएको मूर्तिकार्यशालामा सहभागी १५ जना मूर्तिकारहरु सगहवामा खटिएका छन् । १४ जना सहयोगी मूर्तिकारहरले साथ दिएका छन । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित विभिन्न स्थानीय संघसंस्थाको आयोजनामा प्रथम कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला २०८० शुरु गरिएको हो । मूर्तिले आकार लिदै गर्दा स्थानीयहरुको समेत आर्कषण बढ्दै गएको छ । यसै सन्दर्भमा मूर्ति कार्यशालाका बिषयमा मुख्य आयोजक लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव निर्देशक समितिका संयोजक तथा पार्कमा कला अभियानका अभियन्ता श्री ढुण्डिराज भट्टराई (सिद्धिचरण) सँग गरिएको कुरानकानीको सम्पादीत अंश ।

तपाईकै अगुवाईमा देवदहमा पनि मूर्तिकार्यशाला गर्नुभयो ? अहिले लुम्बिनी विकास कोषको कोषाध्यक्ष भएपछि बौद्धकालिन ऐतिहासिक घटनासँग जोडिएको कपिबलस्तुको सगरहवामा मूर्ति (प्रस्तर) कार्यशालाको आयोजना गरिएको छ ? खासमा यो कार्यशाला किन आयोजना गरिएको हो ?
लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने बाहेक लुम्बिनी विकास कोष ऐन २०४२ बमोजिम गर्नेपर्ने कपिलवस्तुको तिलौराकोट, निग्लीहवा, अरौराकोट, कुदान, सगरहवा, परासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको विकास गर्ने भने पनि केही गरेन भन्ने आम जन गुनासो सुनिँदै आएको हो । जति लुम्बिनीको विकास भयो त्यसैगरी यी सबै क्षेत्रको विकासको प्रक्रिया अघि बढनु पर्नेमा जग्गा ओगटने विकास र पूर्वाधार, तथा उत्खनन र संरक्षण, प्रबद्र्धनका काम केही नभएको भन्ने आरोप पनि छ । एक हद सम्म सहि पनि हो । जनताको असन्तुष्टि बढ्दै गएर स्थानिय पालिकाहरुले अलग्गै विकास कोष बनाउँछौ भनेर भन्दै आएका छन । यो एक खालको असन्तुष्टिको अवस्था हो । यसलाई बदल्न लुम्बिनी विकास कोषले सबैतिर ध्यान दिन्छ र उत्खनन संरक्षण विकास गर्छ भन्ने जनविश्वास सिर्जना गर्न, पर्यटकहरुको आकर्षण बढाउन केही न केही गर्ने पर्ने अवस्था थियो । त्यहि जनगुनासो बमोजिम सगरहवा क्षेत्रलाई प्रबद्र्धन गर्न मूर्ति कार्यशाला गरिएको हो । यो एउटा पर्यटन प्रबद्र्धन र आकर्षण गर्ने नयाँ प्रयोग सावित हुने हाम्रो विश्वास छ ।
स्थानिय पालिकामा आफनै विकास कोष बनाउने अभ्यास हुन थालेको भन्नु भयो । यसले लुम्बिनी विकास कोष र स्थानिय कोष विच विवाद त सिर्जना गर्दैन ?
लुम्बिनी विकास कोष जापानीज वास्तुविद् केन्जो टांगेले ४२ बर्षअघि बनाएको गुरुयोजना मै अल्झिदाँ बाहिर केही विकास हुन नसकेको हो । कोष ऐन २०४२को प्रस्तावनामा उल्लेख भए अनुरुप लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको सन्तुलित विकास नभएको कारणले जनतामा असन्तुष्टी आएको हो । अहिले देश संघियतामा गएपछि अधिकार क्षेत्रपनि बाँडिएका छन । पुरातात्विक क्षेत्रको उत्खन र पर्यटन प्रबद्र्धन र विकास, संरक्षण लगायतका अधिकार पालिकालाई पनि भएकोले स्थानिय तहले अघि सर्नु नराम्रो हैन । यसको सकारात्मक प्रभाव हुनु पर्छ भन्ने मलाई लाग्छ । कार्य विभाजन गरेर अघि बढदा लुम्बिनी विकास कोषलाई पनि सजिलो हुन्छ ।
उत्खनन, संरक्ष्।ण र विकासको पाटो लुम्बिनी विकास कोषले र पर्यटक व्यवस्थापनको पाटो स्थानिय पालिकाले लिने गरी कार्य गर्न सकिन्छ । यसो गर्दा पालिका तहपनि प्रत्यक्ष लाभान्वित हुन्छन । संघियतामा गएसंगै कोषको पुरातात्विक क्षेत्र संग जोडिएका पालिका र जनप्रतिनिधीको लुम्बिनी विकास कोषको नीति निर्माण तहमा प्रतिनिधित्व हुन जरुरी छ । जुन बिद्यमान ऐनमा त्यस्तो व्यवस्था छैन । यसर्थ लुम्बिनी विकास कोषकै नाम जस्तो बनाउन पर्छ पर्दैन त्यो अलग्गै कुरा भयो तर कुनै न कुनै रुपमा पालिका तहले पर्यटन विकासको क्षेत्रमा काम गर्ने निकाय बनाउँदा राम्रो नै हुन्छ भन्ने मलाई लाग्छ ।

कपिलबस्तुमा अन्य बौद्धकालिन पुरातात्विक र ऐतिहासिक स्थलहरु छन् ? सगरहवामा नै किन कार्यशाला ?
खासमा हामीले तिलौराकोटमा त्यही ठाउँका बुढा रुख काटेन त्यसैको मूर्तिहरु बनाएर तिलौराकोट दरबारको शैलीको घर, शुद्धोद्धन र मायादेवीको मूर्ति, बुद्ध यसोधरा प्रजापति आदिको मूर्तिहरु बनाएर राखौँ भन्ने अवधारणाले यो कार्यक्रम गत बर्षको नीति तथा कार्यक्रममा नै राखेका थियौं । तर कुरा गर्दै जाँदा पुरातत्व विभागसंग सल्लाह गर्दा विश्व सम्पदा सूचिकृत गर्ने क्षेत्रमा सम्पदा परीक्षणको लगायतका कार्य गर्न तत्काल समस्या हुने र तिलौराकोट गुरुयोजना बनेपछि आवश्यक तोकिएको ठाउँमा गरौ भन्ने बुझाई आयो । त्यसो भए तिलौरकोट बाहेक अलि पछाडि परेको क्षेत्रलाई अगाडि ल्याउने गरी गरौंन भनेर स्थान खोजी गर्दा कोषले अधिग्रहण गरी बाउडी गरेको सगरहवाको ५८ विगाह क्षेत्रफल मध्ये पुरातात्विक क्षेत्र नपर्ने क्षेत्र रोजेर गरौ भन्ने निष्कर्ष निक्लीयो ।
गत साल नै हामीले अनौपचारिक रुपमा भूभौतिक सर्वेक्षण (जियोफिजिक्स) गरि त्यो क्षेत्रको गर्भमा पुरातात्वीक अवषेस छैन भन्ने थाहा पाएपछि ढुंगाहरु झाररे राष्ट्रिय मूर्तिकला कार्यशाला गर्ने तयारी गरेका थियौं । गतशाल नै हामीले मूर्तिकारहरुको व्यवस्थापन छनौट, म्याकेट माग्ने र आईकनोग्राफि गर्ने प्रक्रियागत कार्य गर्न समयमा सकेनौं र स्थगीति भएको कार्यक्रम यस बर्ष गरेका हौं ।खास गरी सगरहवा क्षेत्र कपिलवस्तु राज्यको पतनको मूख्य कारण संग जोडिन्छ । जहाँ कोसल नरेस बिढुरकले दशौंहजार शाक्यहरुको बध गरेका थिए । शाक्यबध भएको एतिहासिक तथ्य, कारण र त्यसलाई रोक्नका लागि निम्ति भगवान बुद्धले गरेको प्रयास किन असफल भयो ? भन्ने दर्शाउन र आजको मानव जातिकै लागि समता, करुणा र मैत्रिको भाव जागृत गर्न सुन्दर पार्क निर्माण गर्न जनस्तरको पहल शुरु गर्ने उद्देश्यले यो कार्यशाला शुरु गरिएको हो ।
त्यहाँ कस्ता मूर्तिहरु निर्माण भइरहेका छन ?
यो एउटा निष्चित उद्देश्य, कथा, दर्शन र विचारधारात्मक पक्ष संग जोडिएर यो कार्यशाला सम्पन्न हुँदैछ । खासगरी कपिलवस्तुको पतन जातिय अहंकार र प्रतिषोधको भावनाको कारण भएको थियो । जसमा बासभखतिया र प्रसेनजीतको विवाह प्रसंग उनीबाट जन्मेको दासीपुत्रको रुपमा रहेको राजकुमार बिढुरकको शाक्य महाविनासको संकल्प संग सगरहवाको कथा जोडिन्छ ।
जुन संकल्पबाट युद्धको खतरा बनेको थियो भगवान बुद्धले रोक्न प्रयास गरेका प्रसंग र बिडुडभले आफना पिता शाक्यबंशीबाट ठगिएको कसरी थाहा पाए भन्ने कुराहरु विभिन्न मुर्तिहरुले दर्शाउने छन । यी मूर्तिहरु अवलोकन गरेर पर्यटकहरु एकपटक २५ सय बर्षअघिको राजशासन र त्यो बेलाको समाजको अवस्था सम्म पुग्ने अवस्था सिर्जना गर्ने खालका मूर्तिहरु निर्माण भइरहेका छन । अब करिब करिब अन्तिमचरणमा पुगेको छ ।
मूर्ति निर्माणका लागि मूर्तिकार छनौट कसरी गर्नुभयो ? त्यहाँ बन्ने मूर्ति कसरी सगरहवाको ऐतिहासिकतासँग जोडछन मूर्तिकारहरुले ?
मूर्तिकारहरु छनौट गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग संगको समन्वयमा देशभरीका मूर्तिकारहरुलाई सगरहवाको प्राचिन घटनामा आधारित भएर नमुना मूर्तिहरु सहित सहभागि हुन आव्हान गरेका थियौं । उनिहरु कपिलवस्तुको उत्थान पतन संग सम्बन्धीत पुस्तकहरुको अध्ययन गर्ने व्यवस्था पनि मिलाएका थियौं । गतसाल नै कपिलवस्तुको सगरहवामा भएको भेलाबाट बौद्ध दर्शनबारे अध्ययन गरेका स्थानिय बिद्धान साथीहरु रहेको विज्ञ समुह गठन गरी उक्त समुहले दिएको अध्ययन सामग्रीका आधारमा नमुना संकलन गर्ने कार्य भएको थियो । पुस १० गतेको सगरहवामा नगर प्रमुख सुदिप पौडेल र प्रदेसभा सदस्य माननीय बिष्णु पन्थीको बिशेष उपस्थितीमा पुस २३ देखि माघ ८ सम्म राष्ट्रिय मूर्तिकार्यशाला गर्ने कार्यतालिका पास गरी सो आधारमा पुस १५ सम्म नमुना मूर्ति संकलन गरेका थियौ । त्यतिखेर सम्म २५ जना मूर्तिकारहरुले आवेदन दिनु भएको थियो । उहाँहरुले पेश भएका मूर्तिकारहरुका नमुना मूर्तिहरु हेरी सकेपछि पुस १८ गते हामीले अन्तिम १५ जना मूर्तिकारहरु छनौट गरिएको थियो । छनौट भएको मूर्तिकारहरुले २३ पुसदेखि नियमित कार्यशाला चलाउदै आउनु भएको छ ।
सगरहवामा बन्ने मूर्ति कार्याशालाको उपयोगिता र यसको सन्दर्भिकतबाारे प्रष्टयाउनु ?
मुख्यगरी सगरहवा एउटा पुरातात्विक क्षेत्र हो । यो पर्यटन योग्य क्षेत्र पनि हो । सगरहवामा जेछ त्यो जमिनमुनि छ । फुहररले गरेको उत्खननले सगरहवामा क्षेत्रमा १७ स्तुपा रहेको उल्लेख छ भनेर मात्र पर्यटक आकर्षक नहुने भए । त्यसको उत्खनन गरी पर्यटकले देखिने गरी संरक्षणको व्यवस्था मिलाउनु पर्ने हो तर हाम्रो पुरातत्व विभाग र कोषको पुरातत्व शाखा तत्काल उत्खनन गर्ने र संरक्षण त्यसको सौन्दर्यकरण गरेर समुदाय र कोषले लाभलिन शुरु गर्नेगरी सगरहवा क्षेत्रको विकास हुने अवस्था थिएन । यसर्थ कोषको सानो प्रयासले गरिने कार्यको रुपमा हामीले मूर्तिकार्यशाला आयोजन ागर्ने निष्कर्ष निकालेका हौं । एउटा एउटा मूर्ति बनाउन दिएमा बर्षौ बन्न लाग्ने, अभियानका साथ कार्यशालामा सहभागिता रहेमा निष्चित दिनमा सबै कुरा पुराभई आकर्षक स्थल बनि सक्ने भएकोले योखालको शैलीको हामीले विकास गरेका हौं । मूर्तिहरुको व्यवस्थापन उपयुक्त स्थानमा सजाएर स्थापन गर्न सकिएमा स्थानिय तहमा बैकल्पीक रोजगारी सिर्जना हुन्छ । विश्व पंक्षी संरक्षण क्षेत्रको रुपमा दर्ता भएको जगदिशपुर ताल पनि नजिकै रहेको र सगरहवाको पनि विकास थपिँदा थप पर्यटकहरु समय खर्चने स्थान भई लुम्बिनीमा आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने भएकोले यो कार्यशाला आयोजना भएको हो ।
कार्यशाला पुस २३ देखि शुरु भयो ? अहिले मूर्तिले क्रमश आकार लिदैँछ, प्रतिक्रिया कस्तो आइरहेको छ ?
हाम्रो कार्यक्रमको मोडेल नै जनसहभागिता र जन आकर्षण पैदा गर्ने रहेको छ । ठेकेदारी प्रथाबाट यो कार्यशाला सम्पन्न गर्ने मोडेलमा जान कठिन हुन्छ । स्थानिय जनताको सहभागिता, साझेदारीले जनताले पनि सिक्छन् । समुदायले क्षमता विकास गर्छ । प्रत्येक दिन अध्याँरोबाट उज्यालोतिर गएझैं ढुंगा युग आफै मूर्तिकारका औजारले सिँगारिएर प्रष्ट देखिन थाल्छ त्यतिखेर जनसमुदाय प्रेरित र उत्प्रेरित हुने गरेको छ । जनतामा झनै उत्साह बढेको छ । मानिसका अनुहारहरुमा उज्यालो देखिएको छ । उनिहरु नाचेका छन, गित गाएका छन् ।
मूर्तिकारहरु (श्रमजिवि)लाई सम्मान गरेका छन । उनिहरुका हात पुजेका छन । खाना आफै स्थानिय बासिन्दाहरुले पकाएर खुवाएका छन । श्रमजिवीलाई खुशी बनाउँदा सिर्जना उत्कृष्ट बन्छ । उनिहरुको कला र सिर्जनामा वास्तविक भाव झल्कीन्छ । श्रम संष्कृति पनि विकास भएको छ । देश र बिदेशमा ख्याति कमाएका मूर्तिकारहरु, ललितकला क्याम्पसमा पढाउने प्रोफेसर, प्राध्यापक र प्राज्ञहरु यसमा सहभागि हुनुहुन्छ । यो आफै श्रमयज्ञशाला हो । महायज्ञ हो उत्सव हो । जनताले यसरी नै यसलाई बुझदै गएका छन । बुझेका छन । लुम्बिनी विकास कोषले अघि सारेको स्थानियसंग लुम्बिनी अवधारणा यहाँ लागु भईरहेको छ ।
स्थानीय बासिन्दा र संघसंस्थाहरुको साथ र सहयोग कस्तो छ ?
स्थानिय संघ संस्थाको सहयोगमा यो सम्पन्न हुँदैछ । स्थानिय तहका बिद्यालयका तहदेखि स्थानिय सबै संस्थाले हामी संग सहकार्य गर्नु भएको छ । उहाँहरुको सहयोगले होस्टेमा हैसे भईरहने अवस्था सिर्जना हुन्छ । यो अभियानको कार्यशैली वा ढाँचा ड्रिम देवदह युनिटी फर चेन्जले तयार पारेको हो । २०७६ सालमा देवदहको बुद्ध सामुदायिक बनको गौतमबुद्ध राष्ट्रिय उद्यान क्षेत्रमा राष्ट्रिय काष्ठकला कार्यशाला शुरु गर्यौं । यो देवदहमा सम्पन्न भएको प्रथम पार्क सम्मेलनमा मैले आफैले प्रस्तुत गरेको पार्कमा कला अभियान नामक अवधारणारमा आधारित थियो ।
यो अवधारणाले जनता, जन समुह र सरोकारवालाई साथमा लिएर पार्कमा कलानिधिहरु स्थापित गर्ने सोँच राखेको थियो । त्यही एप्रोचलाई अघि सारेर हामीले सामुदायिक वन, नगरपालिका, ललितकला प्रतिष्ठान, स्थानिय संगठीत समुदायगत संगठनलाई पनि आवद्ध गरेर स्थानिय एतिहासिकता, पृष्ठभूमि, पर्यटनका संभावना आदि कुरालाई एउटा ठाउँमा ल्याएर जोडने काम गर्यौं । कम्तिमा कुल ११ लाख खर्च भएको काष्ठकला कार्यशालाले त्यतिखेरै १५ हजार मानिसको ध्यान खिच्यो । यसरी देवदहको कुनोमा परेको क्षेत्रको विकास गरी पार्क, कला, पिकनिक स्पोट र अन्य सांष्कृतिक सुविधाहरु भएको क्षेत्र निर्माण भयो । त्यस पार्कले अहिले बार्षिक १ लाख बढि पर्यटक आकर्षण गरेर झण्डै २० लाख बढि आम्दानी दिन शूरु गरेको छ । रोजगारी र स्वरोजगारी हिसाव गर्दा ५० जना भन्दा बढिले रोजगारी बढेको देखिएको छ ।
तपाई निरन्तर पार्क अभियानमा लाग्नुभएको छ ? तपाई आफैले ड्रिम देवदह यूनिटी फर चेञ्च भन्ने संस्था नै गठन गरेर अभियान थाल्नुभाको छ ? पार्क कला अभियान आगामि दिनमा कसरी अगाािड बढ्छ ?
२०७६ सालमा देवदहको बुद्ध सामुदायिक बनको गौतमबुद्ध राष्ट्रिय उद्यान क्षेत्रमा राष्ट्रिय काष्ठकला कार्यशाला शुरु गर्यौं । यो देवदहमा सम्पन्न भएको प्रथम पार्क सम्मेलनमा मैले आफैले प्रस्तुत गरेको पार्कमा कला अभियान नामक अवधारणारमा आधारित थियो । यो अवधारणाले जनता, जन समुह र सरोकारवालाई साथमा लिएर पार्कमा कलानिधिहरु स्थापित गर्ने सोँच राखेको थियो । त्यही एप्रोचलाई अघि सारेर हामीले सामुदायिक वन, नगरपालिका, ललितकला प्रतिष्ठान, स्थानिय संगठीत समुदायगत संगठनलाई पनि आवद्ध गरेर स्थानिय एतिहासिकता, पृष्ठभूमि, पर्यटनका संभावना आदि कुरालाई एउटा ठाउँमा ल्याएर जोडने काम गर्यौं ।
कम्तिमा कुल ११ लाख खर्च भएको काष्ठकला कार्यशालाले त्यतिखेरै १५ हजार मानिसको ध्यान खिच्यो, राष्ट्रिय मिडिया र सोसल मिडियाहरुले राम्रो साथ दिए । यसरी देवदहको कुनोमा परेको क्षेत्रको विकास गरी पार्क, कला, पिकनिक स्पोट र अन्य सांस्कृतिक सुविधाहरु भएको क्षेत्र निर्माण भयो । त्यस पार्कले अहिले बार्षिक १ लाख बढि पर्यटक आकर्षण गरेर झण्डै २० लाख बढि आम्दानी दिन शुरु गरेको छ । रोजगारी र स्वरोजगारी हिसाव गर्दा ५० जना भन्दा बढिले रोजगारी बढेको देखिएको छ । यसपछि हामीले २०७८ सालमा अर्को देवदहस्मृती पार्कमा प्रस्तरकलामा आधारित भएर राष्ट्रिय मूर्तिकला कार्यशाला गरयौं । यहाँपनि अहिले दिनहुँ २ सयभन्दा बढि पर्यटकहरु आउने गरेका छन् ।
उक्त सफलताले हामिलाई हौसला दिएको छ । देवदह एक भगवान बुद्धको मावली स्थल हो । त्यहाँ बौद्धकालिन कोलीय गणराज्यको राजधानी हो । त्यहाँ सुप्रबुद्ध र दण्डपानी जस्ता राजाहरुले शासन गर्थे । बुद्धमाता मायाँदेवी र प्रजापति यही जन्मेका हुन । बुद्धकी धर्मपत्नी यसोधराको माइति पनि यहीँ हो भन्ने कुरा अहिले देवदहका २ वटा पार्कमा जाँदा जो कोहीले पनि अनुभुति गर्छ ।
केही मानिसहरुले तपाई समेत आबद्ध रहेको संस्थालाई एनजिओको रुपमा लिने गरेका छन । ड्रिम देवदह खासमा यसको संस्थागत परिचय के हो ? यो कस्तो संस्था हो ?
यो एक अभियान, विचारधारा र आन्दोलन हो । यो भुईतह जगाएर गरिने विकास परिकल्पनामा आधारित आन्दोलन हो । खासमा यो परम्परागत एनजिओ हैन । सिडिओ कार्यलयमा दर्ता हुने सबै सामािजक संस्था एनजिओ हैनन । तर यसले सरकार र जनताविच रहेको ग्याप पुरा गर्न काम गर्छ । यसले आफनो चरित्रलाई त्यही रुप दिएको छ ।खासमा एकदिन मलाई देवदहबाट प्राविधिक तर्फको उच्चशिक्षा पढदै गरेका प्रतिभाशाली युवाहरुको भेला गर्ने इच्चा भयो ।२०७२ सालमा । संविधान बनेको बर्ष । मानिसमा यस्तै निरासा थियो अहिले जस्तै । त्यो भेला एउटा बोर्डिंग स्कुलमा भएको थियो । त्यहाँ मैले एउटा शिर्षकमा छलफल चलाएको थिएँ – देशका लागि केही गरौं । आफनो माटोका लागि केही गरौं । समाजका लागि केही गरौं । अहिले जस्तै त्यतिखेर १२ कक्षा पढदै गरेका आम केटाकेटिको देशमा नवसेर युरोप, अष्ट्रेलिया, अमेरिका जाने लक्ष्य देखिन्थयो । जुन देशका लागि खतरनाक थियो ।

मलाई देशले नयाँ कोल्टेफेरेको छ । अव देशमै केही हुन्छ । त्यसैले केही गरौं भन्ने आशा जगाउने अभिप्रायले त्यो भेला गरेको थिएँ । आम युवा बिद्यार्थि साथीहरुले केही गरौं भन्ने अवधारणा संगै त्यो अभियानको नाम ड्रिम देवदह युनिटी फर चेन्ज राखौं भन्ने प्रस्ताव राख्नु भयो । त्यो अभियानको नेतृत्व गर्न मलाई नै अनुरोध गर्नु भयो । त्यस भेलाको अर्को निष्कर्ष थियो अवधारणा सम्मेलन गरौं । सायद हामीले दशै तिहारको विचमा २०७२ सालमा आईडिया समिट गरयौं । त्यसका लागि कृषि, पर्यटन, जनस्वास्थ्य, सूचना प्रविधि जस्ता विधाहरु छुटाएका थियौं । त्यसका लागि विभागहरु थिए । सबै विभागले केही न केही काम गरे । देवदह माटो परिक्षण अभियान, स्वास्थ्य शिविर, चैते दशैं मेला प्रबद्र्धन आदिका कामहरु भए । यसरी स्थानिय माटो सुहाँउदा अभियानहरु चल्न शुरु गरे यही क्रममै यसले पार्कमा कला अभियान पनि सिर्जना गरेको हो । यो अभियानमा कम्तिामा २०० बढि स्वयम सेवी अभियन्ताहरु हुनुहुन्छ ।
विधिवत दर्ता भएको संस्था हो । यसले खासमा पैसा लिएर काम गर्न चाहँदैन । विचारहरु सेयर गरेर राम्रो गर्न सक्ने भुईँतहका संस्थाहरुलाई बलियो बनाउन चाहन्छ । यो एक भुईँ आन्दोलन नै हो । यो नयाँ आन्दोलन र अभियान हो भन्ने म ठान्दिन तर हामीले हिजो बाटो, कुलो, पुल, फडके, चौतारी, मठ मन्दिर आदि सामुदायिक स्वरुपमा बनाउँथ्यो । सामाजिक श्रम गर्थ्यौं त्यसलाई फर्काएर ल्याउन खोज्ने एउटा जनस्तरको अभियान हो । अहिलेको ठेक्का पटटा र प्रतिष्प्रधामा आधारित सेवा प्रवाहमात्र विकासको विकल्प हैन, सामजिक आवश्यकता र श्रममा आधारित मोडेल स्थापित गर्ने आन्दोलन हो । यसले अहिले जस्तो १० रुपैयाँमा गर्न सकिने कामलाई १०० रुपैयाँमा पनि गर्न नसकिने बनाउँदैन । यो हाम्रो आफनै प्रकृतिको मोडेल पुर्नजागृत गर्न सके देशको बिद्यमान बजेटले पनि यसको दशगुणा बढि प्रतिफल निकाल्न सकिन्छ भन्ने हाम्रो विचारधारात्मक विश्वास हो ।
सगरहवा कार्यशालाबाट कपिलबस्तुबासीले के पाउँछन् ?
कपिलवस्तु र रुपन्देही जिल्ला एउटा प्राकृतिक स्वरुपको विचार, दर्शन, कार्यढाँचा जन्माउने दार्शनिक थलो हो । बुद्धहरु जन्मने स्थान हो । यहाँको माटोमा बुद्धका अनेक जन्म भएको प्रमाण हामी पाउँछौ । सांख्या दर्शनका प्रणेता कपिलमुनि, कनकमुनि, कक्रुछन्द र शाक्यमुनि बुद्धको जन्म घर । यहीबाट शान्ति र समृद्धिको महान विचार र दर्शन पैदा भएको हो यही नै गणराज्यको अभ्यास पनि भएको हो । यहाँका जनताले यो कार्यशालाबाट आफनो माटोको वास्तविक सुगन्ध थाहा पाउने छन ।
कस्तुरी जस्तै भौँतारिहने अवस्थालाई अन्तगर्दै प्राचिन सम्पदाहरुको संरक्षण र विकास केवल सरकारका जिम्मेवारी होइनन ति जनताका र समुदायका जिम्मेवारी हुन भन्ने महसुस हुनेछ । लुम्बिनी विकास कोष जस्ता संस्थाहरु पनि जनतासंग जोडिएर विकासको कार्यमा साझेदारी र सहकार्यबाट अघि बढनेछन । त्यसको प्रत्यक्ष लाभ भुईमान्छे अर्थात गाउँको सिमान्त मानिसकहाँ पुग्नेछ ।
कार्यशाला सम्पन्न हुँदै गर्दा महसुस गर्नु भएको चुनौति के हो ?
यो कार्यशाला सञ्चालन सम्पन्न भएपछि जुन कलाको सम्पति त्यहाँ रहन्छ त्यो कसले संरक्षण गर्छ र कसले विकास गर्छ भन्ने नै नयाँ चुनौती हो । कलाको मुल्य अमुल्य नै हुन्छ । एउटा मूर्ति गौतम बुद्ध विमानस्थलमा राखिएको बुद्धमूर्ति वर्माबाट आएको करिब १ अरब भन्दा बढिको भन्ने मैले सुनेँ । यसरी हेर्दा यी कलाहरु क्ति मुल्य होला ? यसैले यी अमूल्य छन् । यसलाई बचाउन र मानिसहरुले दर्शन गरिरहने गरी सजाएर प्रदर्शन गर्ने कुरा चुनौतिपूर्ण छ । यस क्षेत्रको विकासका लागि हामीले प्रदेश सरकार र नगरपालिका संग साझेदारी गर्न चाहिरहेका छौं । त्यसको अपनत्व स्थानियले लिने अवस्था सिर्जना गर्न खोजिरहेका छौं ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६