अर्थ-वाणिज्य

ग्यालेक्सी टेलिभिजन छाड्दा रबिको खातामा १ करोड ८० लाख कहाँबाट गयो ?



काठमाडौँ ८ माघ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए । कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबार, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज पनि प्राप्त गरेको छ, यी विवरणअनुसार लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा)पाएकै थिएनन्, बरु सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा सारेका थिए ।

लामिछानेले कामबापतको हिस्सा पाएको दाबी गर्दै आएका छन् । टेलिभिजनबाट बिदा हुने दिन उनले आफ्नै कार्यक्रमबाट दर्शकलाई भनेका थिए, ‘यस टेलिभिजनसँग सहकार्य गर्दा मैले आफ्नो पसिनालाई नै आफ्नो थोरै सेयरका रूपमा लिएको हुँ । आज दिउँसो यो सेयर जस्ताको त्यस्तै यो कम्पनीलाई ससम्मान बुझाएर निस्कँदै छु ।’ उनले ‘स्वेट सेयर’ लिएको विषय सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिने क्रममा पनि दोहोर्‍याउँदै आएका छन् । लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा आबद्ध भएको सार्वजनिक घोषणा २०७७ फागुनमा गरेका थिए । तर, सेयर प्राप्त गर्न आर्थिक कारोबार भने त्यसअघि माघबाटै सुरु भएको थियो ।

कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं। ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ ।
इकान्तिपुर बाट

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६