अन्तर्राष्ट्रिय

अमेरिकी स्टक एक्सचेन्जमा नेपाली कम्पनीले पनि कारोबार गर्ने



काठमाण्डौ, १० माघ । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ‘सीएसएलएम एक्विजिसन कर्प’ बीच ‘नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको छ । मर्जरपछि कम्पनीको मूल्याङ्कन २ सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा. मास्केका अनुसार ‘सीएसएलएम’ कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट ‘नास्डाक’ मा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । अहिले यो सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब शेयरधनीहरूको स्वीकृति र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कम्पनी ‘नास्डाक’ मा सूचीकृत हुनेछ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापकसमेत रहनुभएका डा. मास्केले सन् २०१३ मा ‘फ्युजमेसिन्स’ कम्पनी स्थापना गर्नुभएको थियो । अहिले ‘फ्युजमेसिन्स’ कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत ४ सय ५० जना कर्मचारीमध्ये ३ सय ५० जनाले नेपालबाट काम गरिरहेका उहाँले बताउनुभयो ।

डा. मास्केले कम्पनीको संस्थापकका रूपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय ‘नास्डाक’ मा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोशेढुङ्गा नै भएको बताउनुभयो ।

सम्झौताअनुसार ‘सीएलएलएम’ मा आबद्ध भएकाहरूले ‘पाइप फाइनान्सिङ’ र ‘प्रिक्लोजिङ फाइनान्सिङ’ गरी मिश्रित ढङ्गले ‘फ्युजमेसिन्स’ मा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६