काठमाडौँ, ११ कात्तिक
‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ । अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताउनुभयो । पच्चीस वर्षअघि आफ्ना बुबा डा भोला रिजालले निर्माण गर्नुभएको गीति चलचित्र ‘गौँथली’को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको उहाँको भनाइ छ । चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्रको जित हो, नेपाली माटोको जित हो भन्नुभएको छ । प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोडमाथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको दाबी गरिएको छ । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।









प्रतिक्रिया