खोज–अनुसन्धान

बिवाद प्रहरीको : मुद्धा २ पत्रकार माथि




कञ्चनपुर २८ माघ । भीमदत्त नगरपालिका–९, मटेना, कञ्चनपुरका नरेन्द्र नाथले १९ माघमा प्रहरी जवानबाट राजीनामा दिए।राजीनामा दिएपछि माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीमाथि संगीन आरोप लगाए। जसले गर्दा जिप्रका कञ्चनपुरको मुद्दा फाँटमा कार्यरत शाही विवादमा तानिइन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गएका बेला शाहीले बिनाकारण थुनेर यातना दिएको नाथको आरोप थियो। उनी जिल्ला प्रहरी कार्यालय, बाजुरा दरबन्दी भई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। पछिल्लो समय भने विवादित भएपछि उनलाई बाजुरा नै पठाइ सकिएको थियो।‘पुस तेस्रो सातातिर जिप्रका बाजुराबाट बिदामा घर आएको थिएँ। बिदा थपका लागि साथीहरूसँग जिप्रका कञ्चनपुर गएँ,’ उनले भने, ‘त्यहाँ चौरमा कुराकानी गर्ने बेला समातेर लगियो। तीन दिन थुनेर यातना दिइयो।’
प्रहरी निरीक्षक शाहीको यातनाका कारण प्रहरी जवानबाट आफूले राजीनामा गर्न बाध्य भएको नाथको गुनासो थियो। यद्यपि कञ्चनपुर प्रहरीले भने आफूखुसी हिरासत कक्षमा गएर थुनुवालाई गुट्खा दिइरहेको पाइएकोले नाथलाई कारबाहीका लागि बाजुरा प्रहरीलाई पत्राचार गराइएको जनाएको छ।‘हिरासतमा रहेको आफन्तलाई भेट गराउने र सुर्तीजन्य पदार्थ बुझाउने गरी लुकाएर ल्याएको भेटिएको थियो,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाले भने, ‘त्यसैले नियन्त्रणमा लिएका हौँ। मुढा बोकाउने र शारीरिक हैरानी गर्न सकिने प्रहरीको अधिकार नै छ।’बिदा थप्न जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर गएको बेला झुटा आरोप लगाएर आफूलाई थुनेर यातना दिएपछि जागिर छोड्नु परेको नाथको भनाइ थियो। ‘गुट्खा खाने मेरो बानी भएकाले गुट्खा खल्तीमै हुन्छ। थुनुवालाई दिन गएको होइन्। झुटा आरोप लगाएर यातना दिएर जागिर खान नसक्ने अवस्था बनाइयो,’ उनले भने, ‘थुनाभित्र लात्ता, लठ्ठी जे पायो, त्यहीले निर्घात कुटपिट भयो।’
जिल्ला प्रहरी कार्यालय बाजुरामा नाथले दुईपटक राजीनामा दिएका छन्। पुस २२ गतेदेखि उनी कञ्चनपुर प्रहरीको हिरासतमा थिए। उनले राजीनामाका लागि पहिलो पटक पुस ८ गते निवेदन दिएका थिए। पछि राजीनामा स्वीकृत हुनुपूर्व नै उनले फिर्ता लिएका थिए। त्यसपछि बिदामा बसेका उनले फेरि माघ १९ मा राजीनामा दिए। नाथको राजीनामा माघ २० गते स्वीकृत भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रवक्ता दानसिंह भण्डारीले बताए।बाजुरामा रहँदा पनि कञ्चनपुरबाट आफूविरुद्ध बाजुरा प्रहरीमा कुरा लगाउने गरेकोले हैरानी पाएको नाथको आशंका थियो। मंसिर १२ गतेसम्म कञ्चनपुरमै कार्यरत रहेका उनी कारबाहीमा परेका थिए।
पछि अर्को दिन दरबन्दी रहेको जिप्रका बाजुरा रवाना भएका थिए, नाथ। इलाका प्रहरी कार्यालय गड्डाचौकीमा घुमुवाको रुपमा काम गरेका प्रहरी जवान नाथ असोजअघि जिल्ला प्रहरी कार्यालयमा तानिए। त्यसपछि उनी बागफाँटा प्रहरी चौकीमा खटिए। त्यहाँ कार्यरत हुँदा उनलाई पदीय आचरणविपरीत अनुशासनहीन कार्य गरेको भन्दै मंसिर १२ मा अभिलेख रहनेगरी पहिलो पटक नसिहत दिइएको थियो। भीमदत्त नगरपालिका–२ उल्टाखाममा भएको झगडाका क्रममा हराएको सिक्री फेला पारी सम्बन्धित व्यक्तिलाई दिनुको सट्टा टुक्रा टुक्रा पारी दिएकोले नाथलाई कारबाही गरिएको थियो।

‘स्थानीयले बुझाएको सिक्री उसले टुक्रा टुक्रा गरेर लुकाउन खोजेको आरोप थियो, छानबिन गर्दा दोषी देखिएकाले नसिहत दिएका थियौँ,’ एसपी थापाले भने।तर नाथले भने आफूले टुक्रा टुक्रा नै सिक्री पाएको बताएका छन्। त्यसबेला पनि आफूलाई फसाइएको उनको आरोप छ।‘झगडा हुँदा सिक्री सग्लो कहाँ हुन्छरु ३ टुक्रा एकपटक जिप्रका बुझाएको थिएँ,’ उनले भने, ‘पछि खोज्दा अर्को टुक्रा पनि भेटिएको थियो। त्यो पनि जिप्रकामा बुझाएको हो।’ बढुवा हुने बेला बिना कारण कारबाही भोगेपछि मनोबल घटेको उनको भनाइ छ।

बिना कारण थुनिएको बताउँदै नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा थुनुवामा रहेका बेलाको सीसीटिभी फुटेज माग गरेका थिए। झुटा आरोप लगाएको भन्दै थुनुवालाई गुट्खाजन्य पदार्थ दिइरहेको प्रमाणित भए आफू सजाय भोग्न तयार रहेको उनको भनाइ थियो। घटना पुरानो भएकाले सीसीटीभी फुटेज स्टोर नभएको एसपी थापाले बताए। जघन्य खालको घटनामा माथिको आदेशमा डिलिट फुटेज रिकभर गर्न सकिने उनको भनाइ छ। ‘हामी कस्टडीमा हातपात गर्दैनौँ। ती व्यक्ति चरित्रगत रुपमा प्रहरी कर्मचारी हुन योग्य छैनन्’, उनले भने, ‘लागुऔषध प्रयोग गर्ने र गाउँका युवाहरुलाई बिगारेको सूचना पनि आइरहेका छन्।’
अनि लपेटिए पत्रकार
शनिबार कञ्चनपुरका दुई पत्रकार समातिए। साइबर अपराध मुद्दामा जाहेरीपछि प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको हो।‘फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्ने जाहेरीपछि नियन्त्रणमा लिएका हौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’प्रहरी निरीक्षक शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए। त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६