देश

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण



भोजपुर, २६ कात्तिक

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ । प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ । गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । “सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताउनुभयो । स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन् । त्यस्तै, गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । —

प्रकाशित : २७ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६