वीरगञ्ज (पर्सा), २६ कात्तिक
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ । धान आयातमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, मकै आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ । मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ ।









प्रतिक्रिया