अर्थ-वाणिज्य

ट्रक व्यवसायी धरासायी र असुरक्षित हुँदा जीविको पार्जन गर्न कठिन



भैरहवा १९ फागुन ।ट्रक व्यवसायीले व्यवसाय असुरक्षित हुँदा जीविकोपार्जन गर्न कठिन भएको गुनासो गरेका छन् । उनीहरुले भारतीय ट्रकहरु निर्वाधरुपमा नेपाल चल्दा र सरकारी नीतिका कारण आफूहरु निकै मर्कामा परिरहेको जनाउँदै अवस्था यस्तै रहे जीविकोपार्जनमा समेत कठिनाई आउने जनाए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, रुपन्देहीको शुक्रबार भैरहवामा आयोजित १२औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले अहिलेको विषमपरिस्थितिमा ट्रक व्यवसायीलाई हेर्ने सरकारको नीति परिवर्तन हुन जरुरी रहेको सुनाए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्रक व्यवसायमा गरेको लगानी असुरक्षित रहेको बताउँदै संस्था मर्जर गरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले भैरहवा भन्सार कार्यालयबाट दैनिक १३० ओटा मालवाहक गाडि नेपाल प्रवेश गर्ने गरेको बताउँदै ८० ओटा गाडि पोल्ट्रि गर्न मिल्ने भए पनि ओभरलोड बोकेर नै हिँड्ने गरेको गुनासो गरे ।

‘ढुवानी क्षेत्रमा कहिले नाकावन्दीको मार, कहिले कोरोना महामारीका मार’, उनले भने, ‘ विषम अवस्था र आर्थिक मन्दीमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै ट्रक व्यवसाय सञ्चालन भएको छ । तर सरकारले कुनै राहत र सहजता तुल्याउन सकेको छैन’, उनले भने । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले सबैभन्दा चपेटाको व्यवसाय आफूहरुको रहेको गुनासो गरे । ‘ट्रक नचलेर एत्तिकै थन्किएका छन्, यसले लाखौं लगानी गरेर व्यवसायीलाई जीविकोपार्जन गर्नसमेत कठिन भएको छ’, उनले भने ।

विगत ४ वर्ष यता पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको जिर्ण अवस्थामा रहेको बाटोले गर्दा ट्रकहरुमा टुटफुट भई अत्याधिक खर्च आउने गरेको अध्यक्ष खरेलले बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णुप्रसाद न्यौपाने नेपालमा भारतीय ट्रक ट्रेलरहरुले निर्वाध रुपमा नेपाल अधिराज्य भरी ढुवानी गर्दा नेपाली ट्रकहरु घर तथा ग्यारेजमा खडा गर्नु पर्ने अवस्था आएको बताउँदै यातायात सँगै राज्य पनि धरासायी अवस्थामा पुगेको बताए ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले अहिलेको अवस्थामा सबै यातायात व्यवसायीहरु एकजुट भएर हकअधिकारका लागि लाग्नु पर्ने बेला आएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले यातायात सँगै उद्योगी व्यवसायीहरु पनि पीडित रहेको बताउँदै राज्यले समयमै व्यवसायी बचाउन पहल नगरे सबै विलय हुने जिकिर गरे । युसिएमएसका प्रशासन प्रमुख तेज केसीले लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कर्मचारी तथा संस्थामा आवद्ध व्यक्तिहरुलाई युसिएमएसका कर्मचारी सरहको सुविधा दिने बताए ।

कार्यक्रममा महासचिव रुमाखर गौतमले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष सन्तराम पाण्डेले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । साधरण सभाको अवसरमा संघले भावी योजना समेत ल्याएको छ । योजनामा भारतीय ट्रक नेपालमा निर्वाध चल्न नदिन पहल गर्नेदेखि संस्थागत हितसम्मका छन् ।

प्रकाशित : १९ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६