खोज–अनुसन्धान

टाउको र ढाड अलग पारिएको घटना : यूवकको हत्या आरोपमा प्रेमिका र उनका भाई जेल चलान




कपिलवस्तु ११ चैत । कपिलवस्तु नगरपालिका–४ पिपरीमा युवकको हत्या आरोपमा पक्राउ परेकी प्रेमिका र उनका भाइलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत फागुन ५ गते महाराजगञ्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मीको हत्या गरी कुलोमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।हत्या आरोपमा प्रहरीले फागुन ७ गते मृतकका प्रेमिका पुष्पादेबी ९गुडिया० उपाध्याय र उनका भाइ श्यामकुमार उपाध्यायलाई पक्राउ गरेको थियो । अदालतका न्यायधिश रोमनाथ अधिकारीको इजलासले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार सुमान पाण्डेले जानकारी दिएका छन् । आदेशसँगै मृतक शिवकुमारकी श्रीमतीलाई ५० हजार रुपैयाँ पीडित राहत कोषबाट उपलब्ध गराउने निर्णय समेत भएको उनले जानकारी दिए ।
उक्त रकम मृतककी श्रीमती उर्मिलालाई हस्तान्तरण गरिएको छ । आफ्नी श्रीमतीको पर–पुरुषसँग अवैध सम्बन्ध भएको थाहापाए पछि पुष्पादेवीका श्रीमान राजनारायण उपाध्यायकै योजना अनुसार शिवकुमारको हत्या गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ । हत्याको आरोपमा पक्राउ परेका दुई जना र फरार रहेका पुष्पादेवीका श्रीमान राज नारायण र उनका साला ओम प्रकाश उपाध्यायको प्रत्यक्ष संलग्नता भेटिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।

यसरी गरिएको थियो कुर्मीको हत्या
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६ ठूलो भलवारीका राज नारायणको र कपिलवस्तु नगरपालिका–४ पिपरीकी पुष्पादेवीको विवाह ७ वर्ष अघि भएको थियो । विवाह पछि उनीहरूको छोरा समेत भयो । भवलवारी गाउँका शिव कुमार र पुष्पादबी नजिकिएको र अवैध सम्बन्ध समेत थियो । पुष्पाको माइती गाउँ पिपरी र भलवारीमा अवैध सम्बन्धबारे चर्चा समेत चलेको थियो ।

राज नारायणले आफ्नी श्रीमती र शिव कुमारलाई पटक–पटक चेतावनी समेत दिएका थिए । तर शिव कुमार र पुष्पादेबीबीच फोनमा कुराकानी गर्ने र भेटघाट गर्ने क्रम रोकिएन । त्यहीबीच राज नारायण वैदेशिक रोजगारीका लागि कतार गए । त्यही हुँदा उनले श्रीमती र शिव कुमारबीच अझै अवैध सम्बन्ध जारी रहेको थाहा पाए ।

कतार हुँदै उनले शिव कुमारलाई मार्ने योजना बुने र गत फागुन ४ गते कतारबाट नेपाल फर्के । त्यही दिन नै राज नारायणले आफ्नी श्रीमतीलाई ससुराली बोलाए । श्रीमती र दुई सालोसँग मिलेर राज नारायणले हत्याको योजना बनाए । आफ्नी श्रीमतीलाई फोन गर्न लगाएर शिव कुमारलाई पिपरीमा राति भेट्न आउन बोलाए । घरबाट साँझ निस्केका शिव कुमार एक साथीसँग मोटरसाइकलमा पिपरी आए । फागुन ५ गते राति हत्या गर्ने योजनासहित राज नारायण र उनका दुई सालाहरु शिव कुमारलाई खेतमा घरेलु हतियारसहित ढुकेर बसेका थिए । पुष्पा देवीले खेतमा भेट्न भन्दै शिव कुमारलाई पठाइन् । त्यही खेतमा राति बञ्चरो र कोदालो लिएर बसेका तीन जनाले शिव कुमारको निर्मम हत्या गरे ।

हत्या भएको खेतमा प्रहरीले संघर्षको निशान र रगत फेला पारेको थियो । टाउको काटेर शिव कुमारको शवलाई कुलोमा र टाउकोलाई शव देखि २ सय मिटर पूर्व गाडेका थिए । मृतक शिव कुमारको शव फागुन ६ गते र टाउको फागुन ११ गते फेला परेको थियो । हत्या पछि पुष्पादेवी रातारात आफ्नो घर भलवारी पुगेकी थिइन् । पुष्पाको कान्छो भाइ श्याम कुमार भने पिपरीस्थित आफ्नै घरमा बसेका थिए । श्याम कुमारले रातारात घटनामा प्रयोग भएको दुई बञ्चरो र एउटा कोदालोको बिड जलाएका थिए ।

फागुन ६ गते बोरामा लुकाएर बञ्चरो र कोदालो फाल्न जाने क्रममा प्रहरीले श्याम कुमारलाई पक्राउ गर्‍यो। पुष्पादेवीलाई भने प्रहरीले भलवारीबाट पक्राउ गरेको थियो । राज नारायण र उनको ठूलो सालो भने अझै फरार छन् । फरार दुवैको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । फरार अभियुक्त चाडै पक्राउ पर्ने उनले बताए। मृतकको श्रीमती, एक छोरा र छोरी छन् ।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६