अर्थ-वाणिज्य

राष्ट्रिय सभा उपाध्यक्षमा यी ३ नेतृमध्ये कसले बाजी मार्ला ?




कपिलवस्तु १५ चैत ।राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि सो पद आफूले पाउनुपर्ने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको दाबी छ। केही राष्ट्रिय सभा सदस्यहरूले नयाँ उपाध्यक्ष बन्न लबिइङ समेत सुरु गरिसकेका छन्।खासगरी, एमालेकी विमला घिमिरे र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) को नाम चर्चामा छ। घिमिरे एमालेकी पोलिछब्यूरो सदस्य एवम शाह एकीकृत समाजवादीकी केन्द्रीय सचिव हुन्।एमालेसहित फागुन २१ मा नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका छन्।
त्यसैले अध्यक्षको चर्चामा रहेकी माओवादीकै अर्यालले बिहीबार (चैत १५) मा उपाध्यक्ष पदबाट राजीनामा बुझाइन्। उपाध्यक्ष रिक्त भएपछि एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन्।अझ एकीकृत समाजवादीले गठबन्धनमा राष्ट्रिय सभा उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनित गरिने एक सदस्यमा दाबी गरेको छ। यी दुईमध्ये एक छाड्न नसक्ने उसको ‘बटमलाइन’ छ।
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाललाई मत दिने बेलामा एकीकृत समाजवादीले उपाध्यक्ष पाउनुपर्ने अडान राखेको थियो। त्यसपछि फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा पनि त्यही अडान दोहोर्‍याएपछि संयुक्त वक्तव्य नै नयाँ जारी गर्नुपरेको थियो।राष्ट्रिय सभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले उपाध्यक्ष आफ्नै पार्टीले पाउने दाबी गरे। तर, एमालेबाट विमला घिमिरे र तुलसा दाहालमध्ये एक जनालाई प्रस्ताव गर्ने उनले जानकारी दिए।‘अब दुई दिनभित्र निर्णय गरेर पठाउँछौँ,’ दाहालले भने, ‘२ जनाको नाम चर्चामा छ। गठबन्धनका तर्फबाट एमालेले नै उपाध्यक्ष पाउने निश्चित छ।’
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संवैधानिक परिषदको नियुक्ति, प्रदेशका बाँडफाँट र मन्त्रालय, मन्त्रीलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने बताए।यद्यपि, उपाध्यक्ष एकीकृत समाजवादीलाई दिनकै लागि पाँच दलले ७ बुँदे सहमति गरेको उनले बताए।फागुन २१ मा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी .जसपा) अध्यक्ष उपेन्द्र यादवले ८ बुँदे हस्ताक्षर गरेका थिए। त्यसबेला माओवादीबाट राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने उल्लेख थियो।तर, फागुन ३० गते बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि गठबन्धनमा मिसाएर ७ बुँदे सहमति गर्दा भने अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने भनिए पनि उपाध्यक्ष कसलाई दिने उल्लेख गरिएको थिएन। अर्थात् उपाध्यक्ष एमालेले पाउने भन्ने बुँदा हटाइयो।
यस विषयमा ओली र नेपालबीच पटकपटक भएका छलफलमा उपाध्यक्ष एकीकृत समाजवादीलाई दिन एमाले लचक रहेको बताइएको थियो।एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले राष्ट्रिय सभा उपाध्यक्षमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए।मदनकुमारी शाह (गरिमा) उपाध्यक्ष बन्न सक्ने सो पार्टीका अर्का एक पदाधिकारीले बताए।‘पार्टीको केन्द्रीय सचिव हुनुभएकोले पनि उहाँको सम्भावना बलियो छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘जयन्ती ९राई०जीको पनि सम्भावना हुन्थ्यो तर उहाँ समितिको सभापति हुनुहुन्छ। मदनजीलाई पार्टी उपाध्यक्ष र जयन्तीजीलाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउन पनि सकिन्छ। तर त्यो घुमाउरो बाटो नेतृत्वले नरोज्ला।’

एमालेले उपाध्यक्ष नछोडेको अवस्थामा लुम्बिनीकी विमला घिमिरेलाई अघि सार्ने सम्भावना उच्च रहेको नेताहरू बताउँछन्। सिंहदरबारका विभिन्न बैठक र छलफलमा विमला र मदनकुमारीकै नाम मुख्यरूपमा चर्चामा छ। मदनकुमारीको कार्यकाल ४ वर्ष छ भने विमला र तुलसा दुवैको २ वर्ष मात्र छ।२०७६ माघ ९ गते भएको चुनावमा एमाले–माओवादीबीच एकता भएर बनेको नेकपाकी उम्मेदवार रहेकी तुलसा मधेस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्।
यसैगरी, सोही दिनको चुनावबाट राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट कपिलवस्तुकी विमला घिमिरे निर्वाचित भएकी हुन्। मदनकुमारी भने २०७८ माघ १२ मा भएको राष्ट्रिय सभाको चुनावमा सुदूरपश्चिमबाट विजयी भएकी हुन्। उनी तत्कालीन कांग्रेस–माओवादीसँगको गठबन्धनबाट महिलातर्फबाट निर्वाचित भएकी थिइन्। रोचक तथ्य के छ भने तुलसा र विमला तत्कालीन कांग्रेस उम्मेदवारलाई पराजित गरेर संसदको माथिल्लो सदन पुगेका थिए भने मदनकुमारी एमाले उम्मेदवार पराजित गरेर राष्ट्रिय सभाकी सदस्य बनेकी हुन्। राष्ट्रिय सभामा सत्तारुढ दल माओवादी १८ सांसदसहित पहिलो दल छ। यस्तै, १६ सांसद रहेको कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, ८ सांसदसहित एकीकृत समाजवादी चौथो र ३ सांसद भएको जसपा पाँचौँ दल हो।राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भए पनि चुनावको मिति भने तय गरिएको छैन। राष्ट्रिय सभा नियमावली, २०७५ अनुसार, रिक्त रहेको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्छ। यस हिसाबले चैतभित्रै नयाँ उपाध्यक्ष चयन गरिसक्नुपर्नेछ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६