अर्थ-वाणिज्य

सहकारीका बिकृति समाप्त गर्ने चरणमा पाइला चालिसक्यौ : मन्त्री अधिकारी




काठमाडौं १९ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्य एउटा काम गर्ने अर्को हुँदा सहकारीको समस्या आएको बताएका छन् ।राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालद्वारा आयोजित ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मन्त्री अधिकारीले सहकारीप्रति वितृष्णा जगाउन नहुने बताए । ‘सहकारी अभियानमा जोडिएका लाखौं शेयर सदस्यलाई निराशा हुन दिदैनौँ । अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने कुरा ल्याएको छ । हाम्रो विकासको संरचनालाई आधार मान्दा यसैबाट जानुपर्ने देखिन्छ’, मन्त्री अधिकारीले भने ।
कागजी काम धेरै गर्ने तर व्यवहारमा उतार्ने काम नहुँदा सहकारीमा समस्या देखिएको बताउँदै उनले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसँग वार्ता पनि गरिएको बताए ।

‘सहकारीभित्र देखिएका समस्या समाधान गर्न टोली बनाएर जानुपर्छ, नयाँ कानुन ल्याउनुपर्छ भन्ने पनि हाम्रो सोच छ । सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्छ । के(के आधार तय गर्नुपर्छ हामी गर्न तयार छौँ । कमजोरी सहकारीका शेयर सदस्यहरुको पनि छ’, उनले भने ।राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको जनाउ दिएको बताए । ‘दर्ता गर्दैखेरि लुट्ने ध्येय राखेर दर्ता भएका सहकारी संस्था र सहकारी र कम्पनीको फरक छुट्याउन नसक्ने नेताका कारण समस्या भएको हो । एउटै मान्छेले धेरै ठाउँमा संस्था खोलेको छ, यसमा दोषी सरकार हो ।

सहकारी सङ्घ, महासङ्घ हैन । सबै संस्था खराब हैनन्’, उनले भने ।महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिए । ‘सहकारीलाई छुट्टै नियमन गर्नुपर्छ । तालिम केन्द्र कलेजहरुको स्थापनाका साथै विश्वविद्यालयको स्थापना गरिनुपर्छ । सहकारीको विशिष्ट कार्यक्षेत्र सरकारद्वारा निर्धारण गरिनुपर्छ । सहकारीको ब्यानरमा ठगी गर्ने पद्धतिलाई रोक्ने व्यवस्था छैन । ४७ वटा ऐन संशोधन गर्नुपर्छ भनेर महासङ्घले पाँच÷सात वर्ष भइसकेको छ’, उनले भने ।
पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासङ्घका सल्लाहकार खगराज अधिकारीले सहकारी अभियन्ताहरु नै विवादमा पर्दा सहकारीमा समस्या आएको र सहकारी अभियानमा प्रश्न उठेको बताए ।

‘सहकारीमा आबद्ध भएर शक्ति र सरकारको दुरुपयोग गर्न खोज्नेहरु अभियन्ता हुन सक्दैन । यस्ताहरुसँग सरकारले सम्झौता गर्नु हुँदैन । कानुनको दायरामा रहेर आफ्नो काम गर्नुपर्छ । सहकारीलाई ढुकुटीजस्तो बनाएर पहुँच हुनेले जे गरे पनि हुन्छ भन्ने अवस्था सृजना गर्नु हुँदैन’, उनले भने ।महासङ्घका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले स्थायित्व र सुशासन कायम नभएसम्म जनताले राहत महसुस गर्न नसक्ने जनाउनुहुँदै अहिले ठूलो जिम्मेवारी प्रमुख दलहरुमा रहेको बताए । ‘सहकारीले कहिलेकाहीँ गलत ठाउँमा लगानी गर्दा र समयमा बचत फिर्ता गर्न नसक्दा बचतकर्तामा निराशा छाउन सक्छ । सहकारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सोच्नुपर्छ’, उनले भने ।

महासङ्घका सल्लाहकार तथा पूर्वमन्त्री लीलामणि पोखरेलले आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिँदै मुलुकलाई समृद्धितिर लैजाने माध्यम सहकारी भएको बताए । ‘सामूहिक उन्नयन सहकारीको उद्देश्य हो, अहिले सहकारी अभियन्ताहरु यो उद्देश्यबाट विचलित भएको कारण जनतामा सहकारीप्रति नकारात्मक भाष्य सृजना भएको छ । हामीले स्वअनुसाशनको कुरा गर्दा जनताको सम्पत्तिको सुरक्षा गर्ने दायित्व राज्यको हो भन्ने कुरा बुझेनौँ’, उनले भने ।राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले संविधानमा उल्लेख भएका कुरालाई कसैले पनि विभेद गर्न नपाइने बताउँदै १६औँ आवधिक योजनाभित्र सहकारीको भूमिकालाई कमजोर बनाइनु नहुने धारणा राखे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले ६७औँ सहकारी दिवसको नाराअनुसार नै सहकारीमा सुशासनः प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने धारणा राखे । उनले केही सीमित सहकारीका कारणले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको जनाउँदै व्यक्ति मनोमानीमा निजी कम्पनी जसरी सहकारी चल्दा समस्या आएको बताए ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले यो दिवसबाट सहकारीकर्मीमा सहकारी क्षेत्रमा सुशासन कायम गर्दै सदस्यको आर्थिकस्तर उकास्न सक्ने प्रेरणा मिल्ने धारणा राखे । महासङ्घका अध्यक्ष ओमदेवी मल्लले नीति, नियम, कानुनका व्यवस्थाहरु पालना गरेर काम गर्नु नै सुशासन हो भन्नुहुँदै सुशासनमा बस्दा सहकारी क्षेत्रमा समस्या नआउने बताईन ।कार्यक्रममा सरकारका पूर्वसचिव डा। प्रतापकुमार पाठकले ‘सहकारीमा सुशासनः प्रविधिको उपयोग एवम् सहकारी एकीकरण’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६