प्रदेश

लुम्बिनी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्ने



कपिलवस्तु, २० चैत्र। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो ।

कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी गरेका छन् । महरा रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुन् । उनी यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट सर्कुलेसन आएकाले आफूहरू नयाँ सरकार बनाउन आन्तरिक छलफलमा रहेका रातोपाटीलाई बताए । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् ।

यसैगरी नेकपा एमालेले कर्णाली, कोशी, गण्डकी प्रदेशमा सरकारको नेतृत्व गर्नेछ। मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउने गरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि लुम्बिनी कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत्र २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनबाट माओवादीसहित नेकपा एमाले, जसपा, नेकपा एस र एक जना ‘माओवादीनिकट’ स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ ।

नयाँ गठबन्धन दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने हालसम्म अनिर्णीत छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, नेकपा एसका १ र एक जना माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नागरिक उन्मुक्ति सरकारमा सहभागी नभए पनि जसपा, नेकपा एस र स्वतन्त्रको समर्थनमा सरकार बनाउने गरी माओवादीले छलफल सुरु गरेको छ । अध्यक्ष बरालले अन्य दलहरूसँग छलफल गरेर बहुमतको हस्ताक्षरसहित बुधबारसम्म प्रदेश प्रमुख कहाँ जाने बताए ।

यता मुख्यमन्त्री चौधरीले पनि अन्तिमसम्म सरकार जोगाउने गरी प्रयास गरिरहेका छन् । कांग्रेस नेतृत्वको सरकारलाई लोसपा, जसपा, नागरिक उन्मुक्ति, जनमत, नेकपा एस र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

सङ्घीय सरकारमा नयाँ गठबन्धनमा सहभागी भएको जसपाले अहिलेसम्म पनि सरकार छोडेको छैन । चैत २२ गतेसम्म विश्वासको मत लिने समय भएकोले सोही गृहकार्यमा रहेको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६