अर्थ-वाणिज्य

३२ वर्षीय सुहाङ चुनावी मैदानमा ब्यस्त : चुनाव जित्ने ५ आधार बिष्लेषण




कपिलवस्तु २१ चैत । नेकपा एमालेकी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे यहि बिहीबार इलाम जाँदैछिन्। उनलाई पार्टीले आगामी १५ वैशाखको उपनिर्वाचनका लागि इलाम–२ को कमान्डर बनाएको छ। तुम्बाहाङ्फे एमाले इलाम जिल्ला इन्चार्ज पनि हुन्। केही दिनअघि इलाम पुगेर काठमाडौँ फर्किएकी उनी केन्द्रका नेताहरूलाई सरसर्ती ब्रिफिङ सकेर इलाम झर्ने तयारीमा छिन्। २५ वर्षदेखि एमालेले जित्दै आएको सो क्षेत्रमा यस पटक पनि जित्नेगरी योजना बनाइएको तुम्बाहाङ्फेको भनाइ छ।
निर्वाचन क्षेत्रको वस्तुस्थिति र अवस्थाबारे अनुगमन गर्न जिल्ला उपाध्यक्ष उदय राईलाई जिम्मेवारी दिइएको छ। राईका अनुसार, एमाले र माओवादी केन्द्र सँगै चुनावी अभियानमा खटिने वातावरण बनिसकेको छ। ‘पार्टी केन्द्रको निर्देशन अनुसार नै यहाँ नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेर निर्वाचनबारे बाँकी रणनीति तय हुनेछ,’ राईले भने। आगामी शुक्रबार दुई पार्टीको संयुक्त बैठक बस्ने तयारी भएको पनि उनले जानकारी गराए। त्यस्तै, एमालेले आगामी वैशाख ५ गते देउमाई नगरपालिका, मंगलबारेमा विशेष आमसभा गर्नेगरी तयारी गरेको छ। उक्त आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुने राईले बुधबार दिउँसो बताए।इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुुहाङका बुवा स्व। सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए।
उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो। एमालेले जित्नेमा ढुक्क रहेको बताउँछिन् तुम्बाहाङ्फे।‘एमालेको सांगठनिक आधार, युवाप्रति जनतामा बढ्दै गएको उत्साह, मुख्य प्रतिस्पर्धी कांग्रेसभित्र टिकटको किचलो लगायतका कारण यो पटक चुनाव जित्न अझै सहज हुन्छ,’ तुम्बाहाङ्फेले भनिन्।सुहाङको जितका निम्न आधार रहेको एमाले नेताहरूको भनाइ छ।

सुवास नेम्वाङ​को विरासत
इलाम–२ बाट २५ वर्षदेखि एउटै मान्छे रोजेको थियो, सुवास नेम्वाङ। उनले २०५६ यताका सबै निर्वाचन जिते। कसैलाई नहोच्याउने, नम्र र मिजासिलो स्वभावले परिचित थिए उनी। सुवासले पाँच पटक प्रतिनिधि सभा र दुई पटक राष्ट्रिय सभा गरी सात पटक संसदीय निर्वाचन लडे। राजनीतिक इतिहासमा कहिल्यै जनताबाट पराजित नभएका उनी संविधानसभा अध्यक्ष पनि हुन्।उनलाई सर्वसम्मत संविधान सभा अध्यक्ष बनाइएको थियो। व्यवस्थापिकालाई राम्रोसँग ह्यान्डल गरेका नेम्वाङको विस्तारै बोल्ने, सबैलाई जवाफ दिने शैली आकर्षक थियो। जसको कारण उनले कहिल्यै चुनाव हार्न परेन। बुवाको लामो राजनीतिक विरासत बोकेर चुनावी मैदानमा होमिएका सुहाङले पनि बुवाकै जस्तो शैली अपनाउने गरेका छन्।एमाले नेतृ तुम्बाहाङ्फेले केही हप्ताअघि अनामनगरमा पत्रकारसँग गफिँदै यो कुरा सुनाएकी थिइन्।
‘हैन हौ, हुन पनि ठ्याक्कै बुवाकै शैली छ त। म त दंग पनि परेको छु,’ सुहाङको व्यक्तित्वबाट प्रभावित उनले भनेकी थिइन्, ‘टोपी लाउनेदेखि अडिएर बोल्नेसम्म सबै बुवाकै कपी छ।’पार्टी कार्यालय च्यासलमा भेटिने धेरै नेताहरू सुहाङका विषयमा कुराकानी गरिरहेका हुन्छन्।‘बुवाकै जस्तो व्यक्तित्व देखाएका सुहाङले मतदातामाझ पनि बुवाकै लिगेसीलाई समात्नसके चुनाव जित्न समस्या हुँदैन,’ पार्टी कार्यालयमा गत चैत ११ गते भेटिएका एक नेताले भने।
चैत ११ गते नै पार्टीले सुहाङलाई इलाम–२ को टिकट दिएको थियो। सुहाङलाई सहानुभूतिको मत समेत प्राप्त हुने बुझाइ एमाले नेतृत्वको छ।

समानुपातिकतर्फ एमाले नै पहिलो
गत निर्वाचनमा एमालेले यहाँ समानुपातिकतर्फ सबैभन्दा बढी २६ हजार ५ सय ६२ मत ल्याएको थियो। देशभर समानुपातिकर्फ लोकप्रिय मत प्राप्त गरेको एमालेले यही मतलाई आधार बनाएर जित्ने दाबी गर्दै आएको छ। यहाँ मुख्य प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसको समानुपातिकतर्फ २२ हजार ३ सय ३३ मत पाएको थियो। माओवादी केन्द्रको ५ हजार १ सय ५३ र रास्वपाको ४ हजार ६ सय ८६ मत झरेको थियो। अन्य दलहरूको मत २ हजारभन्दा कम नै छ। ‘हामीले पाएको समानुपातिकमध्ये केही भोट यो पटक कट्नसक्ने आकलन छ,’ इलामका एक एमाले नेताले भने, ‘तर पहिचानवादी रास्वपाले काट्ने भोट एमालेको मात्रै नभइ कांग्रेसको पनि हुन्छ। त्यसो हुँदा हामी नै अगाडि हुन्छौँ।’नयाँ शक्तिको रुपमा उदाएको रास्वपाले केही पहिचानवादी र माओवादीसमेतको भोट काट्नसक्ने एमाले बुझाइ छ।
बलियो संगठन, पाँच पटक जितेको क्षेत्र
इलाम–२ मा एमालेको संगठन बलियो छ। संगठनकै बलमा स्व। नेम्वाङले लगातार पाँच पटकसम्म संसदीय चुनाव जिते। गत ०७९ मंसिर ४ को निर्वाचनमा यहाँ एमाले एक्लै निर्वाचनमा उत्रिएको थियो। नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन थियो। अन्य तीन दल मिल्दा पनि यहाँ एमालेका नेम्वाङ विजयी भए। सांगठानिक मत अहिले पनि कमजोर नभएको इलाम उपाध्यक्ष राई बताउँछन्। आफ्नै संगठनमा आस्था राख्ने बलियो भोट सो निर्वाचनमा झरेको एमालेको बुझाइ छ। यो निर्वाचनमा केही मत कम पाए पनि सबै मत बिग्रनसक्ने अवस्था नरहेको तुम्बाहाङ्फे बताउँछिन्।

माओवादीको ५ हजार भोट
अघिल्लो निर्वाचनको तथ्यांक हेर्दा यहाँबाट माओवादीले समानुपातिकतर्फ ५ हजार १ सय ५३ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ यो मत त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई परेको थियो। अहिले कांग्रेस गठबन्धनबाहिर छ। माओवादी केन्द्रले अहिलेसम्म औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छैन। माओवादी निकटस्थ स्रोतहरूका अनुसार, शीर्ष तहमा एमालेका नेम्वाङलाई नै माओवादीले सहयोग गर्नेछ। यस्तो अवस्थामा माओवादीको ५ हजारमध्ये कम्तीमा ३५ सय मत तान्न सकिने एमालेको आकलन छ। किनभने रास्वपाबाट उम्मेदवार भएका मिलन लिम्बूले माओवादीको केही मत तान्नसक्ने बुझाइ एमाले नेतृत्वको छ। मिलन लामो समय माओवादीमा आबद्ध थिए। पत्रकारिता पृष्ठभूमिबाट आएका लिम्बू माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सचिव समेत थिए।

३२वर्षका युवाप्रतिको भरोसा
एमालेले विशेषगरी युवालाई नै अघि सार्ने पार्टीको नीति अनुसार सुहाङलाई इलाम–२ को उम्मेदवार बनाइएको दाबी गर्दै आएको छ। एमालेका पछिल्ला गतिविधिले पनि युवापंक्तिलाई राजनीतिमा ल्याउनेगरी कसरत गरिरहेको देखिन्छ। अझ, पछिल्लो निर्वाचनमा काठमाडौँ महानगरपालिका लगायतमा देखिएको युवाको लोकप्रियताले सो धारणालाई बल पुगेको छ।सुहाङ अहिले उमेरले ३२वर्षका भए।
पार्टीले चलाएको ग्रासरुट अभियानका क्रममा पुराना राजनीतिक दल र नेताप्रति जनतामा नकारात्मक भावना प्रकट भएको ब्रिफिङ ओलीलाई छ। सोही कुरा बुझेका ओलीले ‘परिवारवाद’को आरोप लाग्दालाग्दै पनि सुहाङलाई नै उम्मेदवार बनाए। सुहाङको नम्र बोली, मिजासिलो स्वभाव र पेसागत पक्षले पनि मतदाता आकर्षित हुनसक्ने एमाले नेतृत्वको आकलन छ। सुहाङ अधिवक्ता हुन् र उनले स्पोर्टिङ इलाम एफसी नामक फुटबल क्लप पनि स्थापना गरी खेलकुद तथा इलामको युवा पुस्तासँग उनी जोडिएका छन्।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६