खोज–अनुसन्धान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने




देउखुरी, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारीमा लाग्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत ल्याउनका लागि विशेष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय भएकाले विश्वासको मत ल्याउने तयारी रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीय सरकारको समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा देखिए पनि अहिल्यै केही भन्न नसकिने बताउनुभयो ।

स्थायी सरकारले कुशलतापूर्वक काम नगर्दा भने आफू चिन्तित रहेको बताउनुभयो । गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको थियो । त्यसअघि नेकपा (एमाले), नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । गिरीको कार्यकाल सय दिन पनि पूरा हुन पाएन । राजनीतिक समीकरण फेरिएपछि कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले–माओवादीसहितको सरकार बन्ने अवस्था छ, गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको थियो । अहिले विश्वासको मत प्राप्त गर्ने दाबी सरकारको छ ।

स्वास्थ्यमन्त्री राजु खनालले विश्वासको मत प्राप्त गर्ने गरी ‘लबिङ’ भइरहेको बताउनुभयो । सरकारलाई समर्थनमा रहेका दल र अन्य दललाई मिलाएर बहुमत जुटाउने तयारीमा नेपाली कांग्रेस नेतृत्व सरकारको योजना देखिन्छ । यता, एमाले–माओवादी दलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने भन्दै नयाँ गठबन्धनको सरकारको तयारीमा छन् । नेकपा (एमाले) का लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीले विश्वासको मत ल्याउन नसक्ने भएकाले राजीनामा दिन सुझाव दिनुहुन्छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग चार, जनमत पार्टीसँग तीन, राप्रपासँग तीन, लोसपासँग तीन, जनमोर्चासँग एक र स्वतन्त्र एक जना प्रदेश सभा सदस्य छन् ।

यसै गरी एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग तीन र नेकपा एकीकृत समाजवादीसँग एक जना प्रदेश सभा सदस्य छन् । यसरी गठबन्धनको पक्षमा एक जना प्रदेश सभा नपुग्ने देखिए पनि नागरिक उन्मुक्तिले आफूहरूलाई समर्थन गर्ने र स्वतन्त्रको पनि साथ रहेकाले बहुमत जुटाउन कुनै समस्या नरहेको गठबन्धनमा आबद्ध दलहरूको दाबी छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६