अर्थ-वाणिज्य

कपिलवस्तुका ४३ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या




कपिलवस्तु ५ बैशाख ।सामुदायिक बिद्यालयमा बर्षो देखि निःशुल्क आईरन चक्की बाडिदै आए पनि कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरुमा रक्त अल्पता ( एनिमिया ) को समस्या देखिएको छ । सामुदायिक बिद्यालयमा कक्षा ६ देखि १२ मा अध्ययनरत १२ बर्ष देखि १९ बर्ष उमेरका किशोरीहरुको रगत परिक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका १० पालिकाका २४ बिद्यालयका ४ हजार ७३४ बालिकाको परिक्षण गर्दा २ हजार ५९ बालिकामा रक्त अल्पताको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनालले बताए । २४ मध्ये १० बिदालयका ५० प्रतिशत बढी किशोरीहरुमा रक्त अल्पता देखिएको छ ।

शरीरमा ११ ग्राम प्रतिशत भन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो ब्यक्ति रक्त अल्पताको समस्यामा रहने स्वाथ्यकर्मी बताउछन । गत फागुन १ देखि चैत १ सम्म जिल्लाको १० पालिकाका २४ बिद्यालयका किशोरीहरुको क्लोरिभिटिन परिक्षण गरिएको थियो । ७ प्रतिशत ग्राम भन्दा कम हेमोग्लोबिन भएका ( सिबिर एनिमिया ) ४९ जना भेटिएका छन । यस्तै ७ देखि ९ प्रतिशत ग्राम भएका ३ सय ४७ जना र ९ देखि ११ प्रतिशत ग्रामका १ हजार ६६३ जना किशोरीहरुको पाइएको छ । सबै भन्दा बढी यशोधरा गाउपालिकाको बासुदेव जनता माबिका ७९ दशमलव ९ ( १ सय ३५ ) किशारीमा रक्त अल्पता रहेको पाइएको छ । यस्तै शिवराज नगरपालिकाको त्रिधुभवन आर्दश माबि पिपरीका ७५ दशमलव ३ प्रतिशत ( १२८ ) किशोरीमा रक्त अल्पता देखिएको छ । मायादेबी गाउपालिकाको जनता माबि बलुहवाका ७४ प्रतिशत ( १२८ ) किशोरीमा रक्त अल्पता पाइएको छ । महराजगंज नगरपालिकाको जानकी माबिका ७० दशमलव ६ प्रतिशत ( १३२ ) बालिकामा रक्त अल्पता देखिएको छ ।

कपिलवस्तु नगरपालिकाको तिलौराकोट माबिका ६६ दशमलव २ प्रतिशत ( १५१ ) बालिकामा रक्त अल्पता भेटिएको छ । कृष्णनगर नगरपालिकाको नेत्र ज्योेति माबि सोनहवाका ५९ दशमलव २ प्रतिशत ( ११६ ) बालिकामा रक्त अल्पताको समस्या छ । बुद्धभुमी नगरपालिकाको सिद्धार्थ स्मारक माबिका ५६ दशमलव १ प्रतिशत ( १६६ ) बालिकामा रक्त अल्पता देखिएको छ । बाणगंगा नगरपालिकाको ओदारी माबिका ५३ दशमलव ३ प्रतिशत ( ८० ) किशोरीहरुमा रक्त अल्पता देखिएको छ । बुद्धुभुमी नगरपालिकाको भृकुटी माबिका ५१ दशमलव १ प्रतिशत ( ११४ ) जना बालिकाका रक्त अल्पता देखिएको छ । बिजय नगर गाउपालिकाको लौटनराम द्रोपती देबी माबि गणेशपुरका ५२ दशमलव ३ ( ८० ) बाल किशोरीमा रक्त अल्पता देखिएको छ । सबै भन्दा कम सुद्धोदन गाउपालिकाको राष्ट्रिय माबि मुरुफुटवाका २ दशमलव ६ प्रतिशत किशोरीमा मात्र रक्त अल्पता देखिएको छ । शरीरमा रगतको मात्रा हेमोग्लोबिनको कमी भयो भने रक्तअल्पता रोग लाग्ने स्वास्थ्यकर्मी बताउछन । त्यही रोगबाट बचाउन आईरन चक्की दिने गरिएको छ । बर्षेादेखि आईरन चक्की निःशुल्क बाडिए पनि जिल्लामा रक्तअल्पता रोगीको संख्या झनै बढदै गएको छ । सन २०१६ को नेपाल जनसांख्यीक प्रतिबेदन अनुसार जिल्लामा ४१ प्रतिशत रक्तअल्पताका रोगी फेला परेका थिए ।

सन २०११ मा भने ३५ प्रतिशत थियो । १५ देखि ४९ बर्षका सुत्करी, गर्भवति महिला तथा ६ महिना देखि ५९ महिनाको बालबालिकाहरुमा रक्त अल्पताको समस्या देखिएको छ । कुपोषण र रक्तअल्पताको अवस्थामा सुधार ल्याउन जिल्लामा १० बर्षयता एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम समेत संचालित छ । सरकारी कार्यालय सहीत बिभिन्न सरकारी निकायले एकीकृत पोषणका नाममा करोडौ रुपैया खर्चेका छन । उता स्वास्थ्य कार्यालयले समेत पोषण कार्यक्रममा बषोदेखि कार्यक्रम संचालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले जिल्लामा लगानी अनुसार प्रतिफल नआएको बताए । ‘ रक्तअल्पता र पोषण कार्यक्रममा जिल्लामा लागनी अनुसरको प्रतिफल नआएको देखियो ’ उनले भने ‘ पोषण र रक्त अल्पताको समस्यालाई समाधान गर्न ठुलो चुनौती आएको छ ’ । शरीरमा आवश्यक पर्ने रगतको मात्रा हेमोग्लोविन कम भए पछि रक्त अल्पताका रोगी हुने गरको स्वास्थ्यकर्मी बताउछन । रक्त अल्पताको समस्यालाई हटाउन जिल्लाभरका सरकारी स्वास्थ्य संस्थाहरुबाट निःशुल्करुपमा आईरन चक्की बाडिने गरिएको छ ।

यस्तै बिद्यालयमा समेत निःशुल्क रुपमा आईरन चक्की बाडने गरिएको छ ‘ आईरन चक्की बितरण र खाए नखाएको अध्ययन गर्न जरुरी छ ’ प्रमुख चौधरीले भने ‘ आईरन चक्की खाएर मात्र रक्त अल्पता हटछ भन्ने नि छैन, पोषिलो खाने कुरा खाए नखाएको बारे पनि सोधखोज गर्नु पर्छ ’ । आईरन चक्की नखाएर मात्र होईन नियमित पोषिलो खानेकुरा नखाईएकाले यो समस्या देखिएको उनले बताए । चेतनको अभाव आनीबानी र ब्यवहार परिवर्तन नुहदा यो समस्या झनै जटिल बनेको उनी बताउछन । बिद्यालयका किशोरीहरुमा हेमोग्लोबिनको मात्रा कम देखिनु दःखद कुरा रहेको चौधरीले बताए । फलामजन्य खानाहरु कम खाने गरिएकाले जिल्लामा रक्त अल्पताको समस्या बढेको पाईएको उनले बताए । यस्तै करेसाबारी नहुनु, गरबी, चेतना र शिक्षाको अभावले समेत रक्तअल्पताको रोगीको संख्या बढनुको कारक रहेको छ । शिक्षा तथा समन्य ईकाई कपिलवसतुका प्रमुख थानेश्वर घिमिरले बिद्यलायहरुमा पोषण शिक्षा संचालन गरिए पनि अझै रक्तअल्पता र कुपोषणको समस्या हटन नसकेको बताए । ‘ बिद्यार्थी, शिक्षक र अभिभावकहरुलाई सचेत नबनाई यो समस्याको समाधान गर्न सकिदैन ’ उनले भने । उनले रक्त अल्पता र कुपोषणको कुचक्र हटाउन बिद्यलाय र समुदायमा सचेतना फैलाउनु पर्ने बताए ।

यसलाइ सुधार गर्न आयोडिनयुक्त नुन, भिटामिन ए, परजिवी संक्रमणका बिषयमा गाउ गाउमा जानकारी गराउनु पर्ने उनले बताए । ‘ रक्त अल्पता र कुपोषणको समस्या हटाउन ठुलो समस्या र चुनौती देखिएको छ, पोषिलो खानेकुरा, ब्यवहारमा परिवर्तन नगरी यी समस्याबाट पार लाउन जटिल छ ’ । स्वास्थ्य कार्यालयकी पब्लीक हेल्थ नर्स शान्ति भन्डारीले रक्त अल्पता देखिएका किशोरीहरुको शारीरिक मानसिक विकासमा धेरै समस्या आउने बताईन । जिल्लामा उमेर नपुगी बिवाह हुनेको संख्या बढी छ । यस्तोमा रक्त अल्पता भएका किशोरीहरु आफै कमजोर हुने र उनीहरुका बच्चा समेत शारीरिक र मानसिकरुपमा कमजोर हुने उनले बताईन । कपिलवस्तुका ६ देखि ५९ महिनाका बालबालिकामा समेत रक्त अल्पता देखिएको छ ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६