गण्डकी

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘



नारायणगढ (चितवन), १४ कात्तिक

नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गरी नयाँपन दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नारायणी नदीमा विगतका वर्षमा मोटरबोट चढ्न पर्यटकको भीड लाग्ने गरे पनि पछिल्लो समय आकर्षण घट्दै गएको व्यवसायीको अनुभव छ । मोटरबोट सञ्चालन हुने अन्य पर्यटकीय गन्तव्य विस्तार हुँदै जानु, नारायणी नदीको धार परिवर्तन हुनु र बाढीका कारण नदीको अवस्था फेरिनुले पनि व्यवसाय प्रभावित भएको उनीहरूको तर्क छ । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले पर्यटकको बदलिँदो रुचिअनुसार मोटरबोट सञ्चालनमा नयाँ शैली र विविधता अपनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको परम्परागत शैलीबाट मात्रै पर्यटकलाई लामो समय आकर्षित गर्न नसकिने भएकाले सेवामा नयाँपन दिनुपर्नेमा जोड दिनुभयो । “हाल हामीले जुन तरिकाले सुरुदेखि मोटरबोट सञ्चालनमा ल्याएका छौँ, त्यो पुरानो तरिका भयो । अब ‘अपग्रेड’ हुनुपर्दछ,” उहाँले भन्नुभयो, “मानिस विभिन्न ‘भेराइटी’ खोज्न थालेका छन् । एकपटक चढेपछि फेरि चढ्न पनि मन नगर्ने हुन सक्छ ।” उहाँका अनुसार पहिले नारायणी नदीमा मात्रै मोटरबोट सञ्चालन हुने गरेकामा पछिल्लो समय अन्य तालतलैयामा यस्तो सेवा विस्तार भएको छ । पर्यटकलाई नयाँ अनुभव प्रदान गर्न नसके व्यवसायमा चुनौती थपिन सक्ने उहाँको भनाइ छ । त्यसैले मोटरबोट सञ्चालनलाई व्यवस्थित बनाउँदै फरकफरक सुविधा र अनुभव प्रदान गर्ने विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुनुभन्दा फरकफरक प्रकारका मोटरबोट सञ्चालनमा ल्याई पर्यटकलाई नयाँ अनुभव प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । नारायणी नदीमा मोटरबोट सञ्चालन गर्ने ११ वटा कम्पनी दर्ता भएकामा हाल नौवटा कम्पनीका बोट सञ्चालनमा रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार हाल तीनवटा ठूला र १५ वटा साना गरी १८ वटा मोटरबोट सञ्चालनमा आउने गरेका छन् । नदीमा एकपटक घुम्न प्रतिव्यक्ति रु २५० शुल्क लाग्ने गरेको छ । चाडपर्वको अवसरमा केही व्यवसायीले मोटरबोट सञ्चालन गरे पनि नियमित रूपमा पूर्ण क्षमतामा सञ्चालनमा आइनसकेको उहाँले बताउनुभयो । बाढीको त्रास अझै कायम रहेकाले व्यवसायीले सावधानी अपनाउँदै मोटरबोट सञ्चालन गरिरहेको उहाँको भनाइ छ । मोटरबोटलाई सामान्य रूपमा परीक्षण गरी निश्चित मार्गमा सञ्चालन गर्न थालिए पनि नारायणी पुलमुनिबाट लैजान भने अनुमति नदिइएको उहाँले जानकारी दिनुभयो । यसैबीच, नारायणी नदीमा मोटरबोट सञ्चालन गर्दै आएका व्यवसायीले पर्यटकको आगमन घट्दा सञ्चालन खर्च जुटाउन कठिन भएको बताएका छन् । नारायणी नदीमा आयुस्मा मोटरबोट सञ्चालन गर्दै आउनुभएका विजयचन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष व्यापार १० प्रतिशत पनि नरहेको बताउनुभयो । दसैँको समयमा नारायणगढमा पर्यटकको चहलपहल नदेखिएको उहाँको भनाइ छ । गत वषको तुलनामा यस वर्ष नदीको अवस्था परिवर्तन र पर्यटकको आगमनमा आएको कमीले व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षभन्दा नदी धेरै घटेको छ अहिले । अहिले साँघुरो बनाइदिएको छ । अब यो चैत–वैशाखतिर हेर्ने हो भने चलाउनै मिल्दैन ।” अधिकारीका अनुसार विगतमा नारायणी नदीमा मोटरबोट चढ्न आन्तरिक पर्यटकको भीड लाग्ने गरे पनि अहिले चहलपहल घट्दै गएको छ । नारायणी नदीमा आएको बाढीका कारण नदीकिनारका केही भाग कटानमा परेका छन् । बाढीको त्राससमेत पूर्ण रूपमा नहटिसकेकाले तत्काल पर्यटकको आगमन बढ्न कठिन भए पनि नदीकिनारको अवस्था क्रमशः सहज बन्दै गएसँगै मोटरबोट व्यवसायमा चहलपहल बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । –––स

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६