बिजनेस

२ बर्षमा जसपा २ पटक विभाजन : ७ सांसदको समर्थनमा राई अध्यक्ष




कपिलवस्तु २४ बैशाख ।२०७९ असार ३१ गते डा बाबुराम भट्टराईले केही नेता लिएर जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन गरेका थिए। उनी जसपा नेपालका संघीय परिषद् अध्यक्ष थिए।भट्टराईले साथमा महीन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई लिएर गएका थिए।त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ।संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्। दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरे, असार ३१ मा भट्टराई र वैशाख २३ मा राईले।प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेतालाई लिएर राईले दल खोलेका छन्।यद्यपि, दलले मान्यता पाउँछ कि पाउँदैन, सांसदहरूको हैसियत के हुन्छ भन्ने निर्क्योलमा पुग्न भने केही समय कुर्नुपर्नेछ।
आइतबार राईलाई अध्यक्ष बनाउँदै आयोगमा पेस गरिएको निवेदन अनुसार नयाँ दलको पहिलो बैठक बसिसकेको छ।बैठकले पदाधिकारी पनि चयन गरेको छ।जसअनुसार रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।सांसदहरूमा अध्यक्ष राईका साथै नवलकिशोर साह, प्रदीप यादव, सुशीला श्रेष्ठ, डा। वीरेन्द महतो, हसिना खातुन र रञ्जुकुमारी झा छन्।प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपालमा ७ सांसद बेग्लै खेमामा उभिएपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव संसदीय दलमा अल्पमतमा परेका छन्।जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार मुख्य कारण सरकारको स्थायित्व हो।‘यो ऐतिहासिक रूपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौँ, राजनीतिक अस्थिरताको चर्चा परिचर्चा भइरहेका बेला, नेपालमा संघीयताप्रति नै भ्रम उत्पन्न भएको छ,’ श्रेष्ठले भने, ‘हामी यही गठबन्धनको पक्षमा छौँ।’तर, जसपाको सदस्यता वितरणमा धाँधली भएको उनले आरोप लगाए।
जसपा महाधिवेशनको मुखैमा छ। यही बेला राईले पार्टी फुटाएका छन्।नयाँ दलका अध्यक्ष बनेका अशोक राईले महाधिवेशनको विषयले पार्टी फुटाउने अवस्था आएको बताए।‘पार्टी महाधिवशेनको सँघारमा छ। महाधिवेशन जसरी स्वच्छ, निष्पक्ष ढंगले अघि जानुपर्ने हो, त्यसको विश्वास हामीमा उत्पन्न हुन सकेन। अरू धेरै नेताहरूमा पनि त्यो अवस्था छ,’ उनले भने, ‘पार्टी महाधिवेशनजस्तो संवेदनशील संस्था आयोजना गर्दा सबैलाई समेटेर, छलफल गरेर जानुपर्ने थियो। तर हतारो मात्रै गर्ने र असंवैधानिक ढंगले विधानमा भएका व्यवस्थालाई कुल्चेर अघि बढ्ने कुचेष्टा भएपछि यसलाई सहनु उपयुक्त हुँदैन भनेर यो कदम लिइएको हो।’उनले सरकार फेरबदलमा आफूहरू कारक नबन्ने पनि बताए।‘उपेन्द्रजीको कार्यशैलीसँगको असहमति र भिन्नताले यो कदम आएको हो, हामी अस्थिरताका कारक बन्दैनौँ,’ राईले थपे।एमालेमा लामो राजनीति गरेका राई उच्च तहमा पुग्ने नेतामध्येका एक हुन्। तर, पहिचानको मुद्दा छोडेको भन्दै असन्तुष्ट भएका उनले २०६९ मा एमाले छोडेर नयाँ दल खोलेका थिए।
२०७२ जेठ ३२ गते उपेन्द्र यादव नेतृत्वको मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको जनजाति केन्द्रित दल संघीय समाजवादी पार्टीबीच एकीकरण भई ‘संघीय समाजवादी फोरम’ बन्यो।त्यसबेला पार्टीको अध्यक्ष यादव र संसदीय दलको नेता अशोक राई चुनिएका थिए।यसबीचमा फोरममा एकता र विभाजन चलिरहे पनि उपेन्द्र–अशोक सँगै थिए। तर, ८ वर्षपछि यी दुवै नेता अलग भएका छन्।यही अवधिमा उपेन्द्रलाई झन् कमजोर बनाउँदै राईले अधिकांश नेता लगेका छन्।उपेन्द्रलाई लामो समय साथ दिएका रेणुकुमारी यादव र प्रदीप यादवले पनि साथ छोडेका छन्।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६