अर्थ-वाणिज्य

छिपछिपे उपभोेक्ता सहकारीको रकम हिनसमिनामा अर्का साम्सद्को नाम जोडियो




कावासोती १४ जेठ । नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले राप्रपाबाट बर्दियाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाँईं नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो ।

प्रतिवादी बनाइएकामध्ये रिमाल, पाण्डे, शर्मा लगायत १० जना प्रहरी हिरासतमा छन् भने सांसद बस्नेतसहति २५ जना फरार रहेको र उनीहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । यसअघि सहकारी रजिष्टारको कायालय गण्डकीले पनि यति नै रकम हिनामिना गरेको प्रतिवेदन बुझाएको थियो ।

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्टारको कार्यालयको अनुसन्धानबाट खुलेको छ । ७ वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई विनाधितो ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

‘छिपछिपे उपभोक्ता सहकारी संस्थामा सेयर सदस्यसमेत नरहेका व्यक्तिलाई पनि नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले भने, ‘कावासोतीमा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब १ करोड रकम लगिएको छ । त्यहा रकम लैजानपर्ने कुनै कारण देखिदैन ।’

बर्दियाका पाण्डेले आफु निकटका नगेन्द्रबहादुर रिमालले बर्दियामा संचालक गरेको कृष्णसार रिर्सोटमा सहकारीको रकम सोझै लगानी गरेको पनि अनुसन्धानले देखाएको छ । राप्रपाबाट प्रतिनिधि सभा सदस्य बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पुर्जी जारी गरे पनि उनी अझै फरार छिन् ।

०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य छन् । सहकारीमा कम्तीमा एक हजारको शेयर लिएको हुनुपर्ने व्यवस्था छ । ऋण प्रवाह भएको सबै रकम असुली हुन सके बचतकर्ताको रकम फिर्ता हुन सक्ने अवस्था रहेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६