प्रदेश

लुम्बिनी प्रदेश सभाको बैठकमा यी हुन् कम उपस्थित हुने सांसद (सुचि सहित )



कपिलवस्तु, २२ साउन । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म ६१ वटा बैठक बसेकोमा कतिपय प्रदेश सभा सदस्य बैठकमा आक्कलझुक्कल उपस्थित हुने गरेका छन् ।

प्रदेश सभाको पहिलो अधिवेशनमा १०, दोस्रो अधिवेशनमा २५, तेस्रो अधिवेशनमा ३, चौथो अधिवेशन अन्तर्गत साउन १२ गतेसम्म २३ पटक बैठक बसेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा बैठकमा सबैभन्दा कम उपस्थित हुनेमा रुपन्देहीकी गीता गुरुङ छिन् । जनमत पाटीकी सांसद गुरुङ कुल ६१ बैठकमध्ये जम्मा २७ बैठक अर्थात् ४४ प्रतिशत बैठकमा मात्रै उपस्थित भएकी छन् ।

दोस्रो नम्बरमा देवकरण प्रसाद कलवार छन् । कांग्रेसका कलावर जम्मा ३१ बैठकमा उपस्थित भएका छन् । प्रदेश सभा सदस्यद्वय अनुराग खड्का र आदेश कुमार अग्रवाल ३२ वटा बैठकमा उपस्थित छन् ।

यस्तै, मधुसुदन शरण चौधरी कुर्मी ३३ वटा, वसिउद्धीन खाँ ३४ वटा, सरोज थापा ३६ वटा बैठकमा उपस्थित छन् भने धनबहादुर केसी र अब्दुल रजाक गद्दी ३७ वटा बैठकमा हाजिर भएको रेकर्ड छ । गिरीधारी लाल न्यौपाने ३८, सायर बानो ४० बैठकमा उपस्थित भएका छन् ।

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बैठकमा कम उपस्थित भए पनि प्रदेश सभा सदस्यहरूले पाउने घर भाडादेखि औषधि उपचारसम्ममा सेवा सुविधा समान रूपमा लिने गरेको बताए ।

प्रदेश सभा बैठकमा धेरै अनुपस्थित हुने सांसदहरू विभिन्न पारिवारिक समस्या र बिरामी भएर उपस्थित हुन नसकेको बताउँछन् । लुम्बिनी प्रदेश सभाको बैठकमा सबै धेरै अनुपस्थित भएकी सांसद गीता गुरुडले पारिवारिक कारणले गर्दा प्रदेश सभाको धेरै बैठकमा अनुपस्थित भएको बताइन् । ३१ बैठकमा मात्रै उपस्थित भएका सांसद देवकरण प्रसाद कलवारले स्वास्थ्यमा समस्या देखिएका कारणले बैठकमा उपस्थित हुन नसकेको बताए ।

लुम्बिनी प्रदेश सभाका धेरैजसो बैठकमा उपस्थित हुने सांसदमा सभामुख तुलाराम घर्तीमगरसँगै खड्का बस्नेत र यमबहादुर नेपाली सार्की छन् । उनीहरू ६१ वटा बैठकमा उपस्थित छन् । बस्नेत यसअघि उद्योग तथा पर्यटनमन्त्री थिए भने सार्की प्रदेश सभा विशेष अधिकार समितिका सभापति हुन् ।

प्रदेश सभामा मेनुका खाँण, तुलसीप्रसाद चौधरी, सीता शर्मा, भगवती अधिकारी, शान्ति लोध ६१ मध्ये ६० वटा बैठकमा उपस्थित छन् । यस्तै मिना बुढा मगर ५९, दिनेश पन्थी र जमुना ढकाल ५८ वटा, धन बहादुर मास्के, राजु श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ र अम्बिका काफ्ले ५७ वटा बैठकमा उपस्थित छन् ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म ४ जना मुख्यमन्त्री भएका छन् । लीला गिरी, डिल्लीबहादुर चौधरी, जोख बहादुर महरा मुख्यमन्त्री भइसकेका छन् भने अहिले चेतनारायण आचार्य सरकारको नेतृत्वमा छन् ।

यीमध्ये सबैभन्दा धेरै जोख बहादुर महरा र सबैभन्दा कम लीला गिरी प्रदेश सभा बैठकमा उपस्थित भएका छन् । महरा ६१ वटा प्रदेश सभा बैठकमध्ये ५३ वटामा उपस्थित हुँदा हालका मुख्यमन्त्री चेत नारायण आचार्य ५०, डिल्ली बहादुर चौधरी ४५ र लीला गिरी ४१ वटा बैठकमा उपस्थित भएको तथ्याङ्क छ ।

दाङका अधिकारकर्मी सुशील बस्नेतले प्रदेशसभा जनताको आवाज उठाउने स्थान भएकाले त्यहाँ बोल्ने र प्रदेश सभा बैठकमा जाने नजाने सांसदहरुलाई नागरिकले नजिकबाट नियाल्नुपर्ने बताए । उनले जनताबाट चुनिएका प्रतिनिधिहरू जनताको लागि बोल्छन् कि सेवा सुविधामात्रै लिन जान्छन्, त्यो हेनुपर्नेमा जोड दिए ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६