खोज–अनुसन्धान

मुख्मन्त्रीसहित लुम्बिनीका सबै मन्त्री एकैसाथ किन गए काठमाडौं ?




रुपन्देही २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका सबै मन्त्रीहरु थप दुई दिन काठमाडौंमै बस्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सबै मन्त्रीहरुलाई राखेर विशेष छलफल गर्ने योजना बनाएपछि बिहीबार सबै मन्त्री काठमाडौं पुगेका हुन् । लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ जना मन्त्री रहेकोमा अहिले सबै जना काठमाडौंमा गएपछि प्रदेशका सबै मन्त्रालय सुनसान भएका हुन् ।

प्रदेशमा संघीयता कार्यान्वयनको ७ वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ काठमाडौंमा जुटेको यो पहिलो पटक हो । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास मन्त्री रोज राणा र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बुधबार नै काठमाडौं पुगेका थिए । अन्य मन्त्री भने बिहीबार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँग शुक्रबार भेट्ने कार्यक्रम रहेपनि उनको स्वास्थ्यमा समस्या आएपछि त्यो कार्यक्रमलाई आइतबार सारिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई सारिएको बताए ।

‘हामी सबै यतै छौं, प्रधानमन्त्रीज्यूसँग भेट्ने कार्यक्रम उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ’ उनले भने । प्रधानमन्त्री ओलीले यसअघि बागमतीका सबै मन्त्रीहरुलाई यसैगरी सामुहिक भेटेका थिए ।

प्रदेश सरकारले संघीय सरकारबाट गत आवमा दिनुपर्ने समानीकरण अनुदानतर्फको २ अर्ब १० करोड रुपैयाँ रकम नदिएपछि त्यही रकम माग गर्न मुख्यमन्त्री आचार्यसहितको टोली काठमाडौं गएको थियो । त्यस क्रममा उनीहरूले अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई भेटेर समानीकरण अनुदान तर्फको रकम चालु आवमा तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई काठमाडौंमै बोलाएर प्रदेशको अवस्थाको जानकारी लिने र आवश्यक निर्देशन दिने तयारी गरिरहेका थिए । त्यसै क्रममा लुम्बिनीका केही मन्त्री काठमाडौंमै रहेको र शुक्रबार ४ बजेको समय उपलब्ध भएपछि प्रधानमन्त्रीकै तालिकाअनुसार अन्य मन्त्रीलाई पनि शुक्रबार काठमाडौं बोलाइएको तर समय पुनः नमिलेपछि आइतबारलाई सारिएको बताए ।

लुम्बिनी सरकारको ढुकुटी रित्तिएपछि गत आवको असार २१ गते नै बजेट भुक्तानी रोकेको थियो । त्यसले लुम्बिनीका निर्माण व्यवसायी र उपभोक्ताले काम सम्पन्न गरेपनि साढे २ अर्ब रकम भुक्तानी पाउन सकेका छैनन् । प्रदेशका सबै मन्त्रालय खाली नै गराएर मुख्यमन्त्री र मन्त्रीहरू काठमाडौं गएको भन्दै आलोचना भएको छ । शुक्रबार प्रधानमन्त्रीसँग भेट नभएपछि मन्त्रीहरुले आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका छन् ।

प्रकाशित : २६ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६