बुटवल ३ मंसिर । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले यसपाली जोग परेका कारण अनुमान गरे भन्दा धेरै भक्तजनहरु आएको बताउँदै उनले व्यवस्थापन गर्न केही समस्या भएको बताए । उनले २ लाख भक्तजन आउँछन् भनेर अनुमान गरेकोमा ३ लाख बढी भक्तजन आएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए।
बढी भिडभाडका कारण भक्तजनलाई पर्न गएको अप्ठेरोप्रति गाउँपालिका क्षमाप्रार्थी रहेको र आगामी वर्ष व्यवस्थापनमा विशेष ध्यान दिने श्रेष्ठले बताए । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।
बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।
प्रतिक्रिया