देउखुरी २० मंसिर । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
एसियाली विकास बैंकका प्रतिनिधि मण्डल संगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए ।
‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पु¥याउन, समाज र घर परिवारमा पुर्नस्थापनाकोलागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो ।
’मुख्यमन्त्री आचार्यले भने,‘सामाजिक न्याय र समतामुलक समाज निर्माण गर्ने संकल्प प्रदेश सरकारको छ ।’ सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसाप्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुर्नस्थापना गृहको आवश्यकता रहेको औंल्याए ।
यसैबीच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ ।
रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँची स्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो । महिला समुत्थान परियोजना अन्तरगत सेवा केन्द्र र पुर्नस्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैंगिक हिंसा न्यूनिकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य सहित परियोजना लागु भएको छ ।
प्रतिक्रिया