लक्ष्मण सापकोटा
कपिलवस्तु २२ फागुन
स्ववियु निर्वाचनको सरगर्मी बढेसँगै कपिलवस्तुका क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित भेटघाट, छलफल र परामर्शमा व्यस्त छन् । सोहि क्रममा अनेरास्ववियु कपिलवस्तु पनि निर्वाचनको निमित्त तीव्र तयारीमा जुटेको छ । अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रत्येक क्याम्पसमा विद्यार्थीका समस्याहरूका पहिचान गरि समाधानका लागि विभिन्न पहलहरू गरिएका छन् । क्याम्पसहरूमा नियमित रूपमा रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै विद्यार्थीहरूको हकहितका लागि आवाज उठाइरहेको अनेरास्ववियु कपिलवस्तुका नेताहरुले हरूले जनाएका छन् । यसको अतिरिक्त, सिद्धार्थ क्याम्पसमा स्नातक प्रथम वर्षका लागि रिविजन कक्षाहरू सञ्चालनमा ल्याउने पहल गरिएको छ । कक्षाहरूले विद्यार्थीहरूलाई आगामी परीक्षा र शैक्षिक उन्नतिको लागि महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यस वर्षको स्ववियु निर्वाचन चैत्र ५ गते कपिलवस्तु जिल्लाका ८ क्याम्पसहरूमा सम्पन्न हुनेछ । अनेरास्ववियु कपिलवस्तुका अध्यक्षले आगामी निर्वाचनमा आफ्नो संगठनलाई पहिलो स्थानमा ल्याउने दाबी गरेका छन् । अनेरास्ववियुको नेतृत्वमा क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि निरन्तर पहल र सुधारका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् , जसले आगामी निर्वाचनमा संगठनको जित सुनिश्चित गर्न सहयोग पुर्याउने कुरामा उनि ढुक्क देखिन्छन् ।
यसअघि कपिलवस्तु जिल्लामा स्ववियु निर्वाचन भएका ७ क्याम्पसमध्ये ४ वटा क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको थियो । जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस भनेर चिनिने सिद्धार्थ क्याम्पसमा स्थापनाकाल देखिको अनेरास्ववियुको विरासत तोड्न नेविसंघ सफल भएको थियो । बाणगंगा बहुमुखि क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
आगामी निर्वाचनमा सिद्धार्थ क्याम्पसमा आफ्नो विरासत पुनःस्थापित गर्न र अन्य क्याम्पसहरुमा पनि आफ्ना उम्मेद्वारहरुको जित सुनिश्चित गरी अनेरास्ववियुलाई जिल्लामै पहिलो संगठन बनाउनका निमित्त संगठनका पुराना नेता, कार्यकर्ता एवं सिंगो पार्टी नेकपा एमाले तथा एमाले निकटका संगठनहरुसंग भेटघाट, सम्पर्क, समन्वय, छलफल गरि रणनैतिक योजना बनाई जितका निमित्त कुनै कसुर नराख्ने गरी आफुहरु लागिपरेको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष निसान खड्काले बताएका छन् ।
तस्विर ः
२३ फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया