अन्तर्राष्ट्रिय

कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार रिपोर्ट



मस्को, २२ भदौ

रुसले विकास गरेको क्यान्सर खोपले प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसले सुरक्षा र उच्च प्रभावकारिता दुवै देखाएको छ ।

फेडरल मेडिकल र जैविक एजेन्सी (एफएमबिए) की प्रमुख भेरोनिका स्क्वोर्टसोभाले यो घोषणा पूर्वी आर्थिक फोरम (इइएफ) मा गर्नुभएको हो ।

“यो अनुसन्धान धेरै वर्षसम्म फैलिएको थियो, यसको अन्तिम चरण अनिवार्य तीन प्रिक्लिनिकल अध्ययनका लागि समर्पित थियो”, तास समाचार एजेन्सीले स्क्वोर्टसोभाको भनाइ उद्धृत गर्दै भनेको छ, “खोप अब प्रयोगका लागि तयार छ; हामी आधिकारिक स्वीकृतिको प्रतीक्षामा छौँ ।”
उहाँका अनुसार, प्रिक्लिनिकल नतिजाले बारम्बार प्रशासित हुँदा पनि खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूले ट्युमरको आकार घटेको र ट्युमरको प्रगति सुस्त भएको देखेका छन्, जसको प्रभाव दर रोगको प्रकृतिअनुसार ६० देखि ८० प्रतिशतसम्म रहेको छ । साथै, खोप प्रयोगपछि बाँच्ने दरमा पनि वृद्धि भएको सङ्केत गरिएको छ ।

यस खोपको पहिलो लक्ष्य कोलोरेक्टल (कोलोन) क्यान्सर हुनेछ । यससँगै ग्लियोब्लास्टोमा र ओकुलर मेलानोमा लगायतका विशेष प्रकारका मेलानोमाका लागि पनि खोप विकासमा उल्लेखनीय प्रगति भइरहेको स्क्वोर्टसोभाले बताउनुभयो । यी खोपहरू अहिले विकासको उन्नत चरणमा पुगेका छन् ।

दशौँ पूर्वी आर्थिक फोरम सेप्टेम्बर ३ देखि ६ सम्म भ्लाडिभोस्टकमा ‘सुदूर पूर्व ः शान्ति र समृद्धिका लागि सहयोग’ भन्ने विषयवस्तुमा सम्पन्न भएको थियो । 

कार्यक्रममा सात ट्र्याकअन्तर्गत एक सयभन्दा बढी सत्रहरू आयोजना गरिएका थिए, जसमा ७५ भन्दा बढी देश र क्षेत्रका करिब आठ हजार चार सय सहभागी उपस्थित थिए । 

सामान्यतया, खोपहरू दादुरा खसरा वा चिकनपक्सजस्ता सङ्क्रमण रोक्न प्रयोग गरिन्छन्। यी खोपहरूले प्रतिरक्षा प्रणालीलाई हानिकारक कीटाणु पहिचान र प्रतिक्रिया गर्न प्रशिक्षण दिन्छन्। तर केही खोपहरू विशेष गरी क्यान्सर कोषहरू पहिचान गरी लक्षित गर्न प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने उद्देश्यले बनाइएका हुन्छन्।

हाल क्यान्सर खोपहरू केही प्रोस्टेट र मूत्राशय क्यान्सरका उपचारका लागि उपलब्ध छन् भने अमेरिकन क्यान्सर सोसाइटीका अनुसार थप अनुसन्धानहरू जारी छन् ।

क्यान्सर खोपहरू प्रयोगशालामा तयार पारिएका पदार्थहरू हुन् जसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई बलियो बनाइदिन्छन् । खोपको प्रकारअनुसार केही क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ भने केही क्यान्सर रोकथामका लागि, जस्तै एचपिभी (मानव प्यापिलोमा भाइरस) खोप । (रासस÷एएनआई) 

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६